सिन्धुली – चीन तथा भारतमा कोरोना संक्रमण फेरि तीव्र दरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोभिड नियन्त्रणकालागि चासो देखाएको छ । छिमेकी मुलुकमा कोरोनाका बिरामी बढेपछि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सबै सरकारी, सार्वजनिक एवं निजी संघसंस्थाहरुलाई आफ्नो कार्यालय परिसरमा न्यूनतम स्वास्थ्य मापदण्डको परिपालना गर्न अनुरोध गर्नुभएको छ । कोभिड १९ संक्रमणको नयाँ स्वरुपमा (भेरियन्ट) देखापरेको र सोको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग रहन प्रजिअ न्यौपानेले अनुरोध गर्नुभएको छ ।
प्रशासनले बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, एक अर्कामा भौतिक दुरी कायम राख्न, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न जिल्लावासिलाई अनुरोध गरेको छ ।
पूर्वतयारी कम
नेपाल–भारत सीमा नाकामा भने संक्रमण नियन्त्रणको कुनै पूर्वतयारी छैन । खुला सीमामा बेरोकतोक आवतजावत चलिरहँदा नागरिकले पनि सावधानी अपनाउनुपर्छ भन्ने कुरा बिर्सिएजस्तो देखिन्छ । पुस लागेयता मात्र सिन्धुलीसँग नाका रहेको मधेस प्रदेशमा रहेका मुख्य नाकाहरूबाट हजारौँ भारतीय पर्यटक नेपाल प्रवेश गरेका छन् । उनीहरुमध्य अधिकांश सिन्धुलीस्थित विपी राजमार्ग हुँदै काठमाडौँ प्रवेश गर्ने गरेका छन् ।
सिन्धुलीसँग सिमा जोडिएको सिराहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटको नेपाल भारत नाकामा बिना कुनै सावधानी सहज आउजाउ भइरहेको छ । प्रवेश बिन्दुमा रहेका हेल्पडेस्क तथा स्वास्थ्य संस्थाहरूले समयमै आवश्यक स्क्रिनिङ, स्वास्थ्य परीक्षण तथा निगरानी बढाउनुपर्ने आवश्यक देखिएको छ । अहिले गरिएको हेलचेक्र्याइँ पछि अवस्था नियन्त्रणबाहिर जानसक्नेतर्फ सम्बन्धित निकायले समयमै सोच्नु बुद्धिमानी हुनेछ ।