सिन्धुली– सिन्धुलीका किसानलाई कोरियाबाट ल्याएको ५७ वटा कोरली होलस्टिन जातको बाँछी वितरण गरिएको छ । जिल्लाको कमलामाई नगरपालिका ५ का किसानलाई आईतवार सो बाँछी वितरण गरिएको हो । हेफर इन्टनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सिड्स नेपालले कमलामाई नगरपालिकासँगको समन्वयमा बाँछी किसानलाई वितरण गरेको छ । एउटा बाँछीको नेपाली झण्डै ४ लाख (अमेरिकन ३ हजार डलर ) मूल्य रहेको छ । नेपालमा १ सय २१ बाँछी ल्याइने छन् । पहिलो चरणमा ५७ वटा बाँछी ल्याइएको हो । सिन्धुलीमा ८१ वटा उन्नत जातको बाँछी किसानलाई वितरण गरिने छ भने बाँकी ४० वटा गार्ई र साढे सरकारलाई हस्तान्तरण गरिने छ ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय, हेफर इन्टरनेशनल र हेफर नेपालले नेपालमा होलस्टिन जातको गार्ई पालनको लागि अनुन्धान गरेको थियो । गार्ई पालनका लागि सिन्धुलीको वातावरण अनूकल भएकाले कमलामाई नगरपालिका ५ छनोट गरिएको हो । गोठ निर्माणका लागि हेफर नेपाल, सिड्स नेपाल र कमलामाई नगरपालिकाले कुल १ लाख रुपैयाँ किसानलाई दिइएको थियो । साथै किसानलाई गाईपालन सम्बन्धी तालिम, गोठ निर्माण, वातावरण लगाएत विभिन्न विषयमा किसानलाई जानकारी दिइसकेको सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले बताउनुहुन्छ । “हामीले किसानलाई गाई पालन सम्बन्धी आवश्यक तालिम समेत दिएका छौँ । गोठ निर्माणका लागि आर्थिक सहयोग गरेका छौँ ।” उहाँले भन्नुभयो । आगामी ५ वर्षमा होलस्टिन गाईबाट दैनिक ५० हजार लिटर दुध उत्पादन हुने लक्ष लिइएको छ ।
नेपाल दुधमा आत्मनिर्भर हुने साथै रोजगारीको सिर्जना हुने कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार नेपालबाट दैनिक युवाहरु बैदेशीक रोजागारीमा गइरहेका छन् । ती युवालाई रोक्न यस उन्नत जातको होलस्टिन गार्ईले ठुलो भूमिका खेल्ने छ । “दैनिक युवाहरु विदेश गइ रहेका छन् । ति युवाहरुलाई नेपाल मै रोजगारीको अवसर सिर्जन ागर्ने हाम्रो मुख्य उदेश्य हो । नगरपालिकामा आगामी दिनमा दुग्ध उत्पादनका ठुलाठुला उद्योग समेत संचालन हुने छ । नेपाललाई नै दुधमा आत्मनिर्भर बनाउने छ ।” उहाँले भन्नुभयो ।
गार्ईका बाच्छिहरुबाट १७ महिना भित्रमा नगरका किसानले दुग्ध उत्पादन, ब्यवस्थित र जिम्मेवारयुक्त पशुपालन गर्ने तरिका र आय आर्जनमा गौरव महशुस गर्ने विश्वास लिएको छ । दक्षिण कोरिया सरकारको अनुदान सहयोगमा प्राप्त भएको ६ देखि ८ महिनाका कोरली होलस्टिन जातको बाँछी पुष ७ गते नेपाल आइपुगेको हो ।