शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली महोत्सवमा देखिएका रोचक दृश्य

सोमवार , पौष ११, २०७९

सिन्धुली– छैठौँ सिन्धुली महोत्सवको दोश्रो दिन आइतबार सार्वजनिक बिदा भएकाले दर्शकहरुको भिड बाक्लो देखिन्थ्यो । लोकगायिका सम्झना लामिछाने (मगर) र भ्वाइस अफ नेपालका निर्णायक एवं चर्चित गाएक राजेश पायल राई आइतबार मुख्य आकर्षण थिए ।

‘राई इज किङ’ उपनामले चिनिने गाएक राईको गित सुन्नकालागि दर्शकले राती सात बजेसम्म कुर्नुप¥यो । राई स्टेजमा चढेसँगै माहोल तातिएको थियो । लोकगायिका मगरको गितमा भन्दा नृत्यमा बढि झुमिरहेका दर्शकहरुकालागि मगर नयाँनै हुनुहुन्थ्यो । उहाँले दर्शकलाई आफूसँगै गित गाउन आग्रह गर्दा धेरैजना मौननै देखिए । मगरको ‘बेलि डान्स’ र जर्बजस्त प्रस्तुतिमा दर्शक झुमि त रहेका थिए तर सो प्रस्तुति स्थानिय कलाकारको हो वा राष्ट्रिय कलाकारको भन्नेमा दर्शक अन्यौल नै देखिन्थे । रियालिटि सोको अन्तिम नतिजा सार्वजनिक गर्न उद्घोषले जसरी दर्शकलाई पर्खाउने गर्छन्, त्यसरी नै राईको प्रस्तुतिकालागि उद्घोषकले दर्शकलाई पर्खाइरहेका थिए । अन्ततः राईले जोडदार इन्ट्री गर्दै स्टेज तताउनुभयो । राईले आफू स्टेजमा आउँदा सबै बत्ति निभाउन आयोजकलाई आग्रह गर्नुभएको थियो । उहाँले दर्शकहरुलाई मोबाइलको बत्ति बालेर आफूसँग रमाउन आग्रह गरेपछि हजारौँ मोबाइलका बत्तिले महोत्सवस्थल रोमाञ्चक देखिएको थियो । राईले झण्डै दुई घण्टा बढि प्रस्तुति दिनुभएको थियो ।

१० दिनसम्म चल्ने सिन्धुली महोत्सव–२०७९ को शुरुवाति तीन दिनमा दर्शकको भिड थेगिनसक्नुनै छ । शनिबार र आइतबार दुई दिन बिदा भएकोले पनि उल्लेख्य दर्शकहरुको भिड महोत्सवमा देखिएको थियो । शुक्रबारबाट शुरु भएको महोत्सवमा दर्शक तान्नकालागि थुर्पै आकर्षणहरु छन् । राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति, रोमाञ्चक खेलहरु, अनौठो वस्तुको प्रदर्शनि लगाईत मनोरञ्जनको प्याकेजनै महोत्सवको आकर्षण हुन् । छैठौँ महोत्सवका केहि रोचक दृश्यहरु यस्तो देखियोः

राईले सिडियो कार्यालय घेराउ गर्ने भनेपछि आयोजक अक्कनबक्क

आइतबार गाईक राजेश पायल राईले स्टेज तताईरहनुभएको थियो । झण्डै दर्जन बढि गित गाईसकेपछि उद्घोषकले राईको कानमा आई केहि सुनाए । त्यसलगत्तै, गाएक राईले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भन्दै दर्शकलाई सुनाउनु भयो । राईले सो कुरा बताइरहदा आयोजक कमिटि अक्कनबक्क भएको थियो । राईले आफूले बोलेको कुराको अनर्थ नलगाउन आग्रह गर्दै भन्नुभयो, “सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने ‘क्षितिज’ मेरो मित्र पनि हुनुहुन्छ । कुनै पनि समस्या परेमा आफ्नो नाम लिएर सहयोग माग्नलाई प्रशासन कार्यालय घेराउ गर्नुहोला ।” गाएक राईले कुरालाई मोड्दै क्षितिजले लेखेको गित आफूले गाएको भन्दै सो गित दर्शकसामु प्रस्तुत गर्नुभएको थियो ।

१० केजिको मुलाः– सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ तिनकन्यामा फलेको १० केजिको मुलापनि प्रदर्शनमा राखिएको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीले कृषकले उत्पादन गरेको वस्तुको प्रचारप्रसार गरेको छ । महोत्सव घुम्न आउने जोकोहिको आँखा रमेश रमतेलले उत्पादन गरेको पीउठाने मुलामा पुग्ने गरेको छ ।

जुवामा भिडः– महोत्सवस्थलमा झण्डै आधा दर्जन स्टलहरुमा खेल खेलाइएको छ । पैसा दोब्बर हुने देखि १०० रुपैँयाबाट पाँच सयसम्म जित्न सकिने खेलहरुमा मानिसको भिड देखिएको छ । झट्ट हेर्दा जोकोहिलाई जित्न सकिन्छ भन्ने लागे पनि खेल खेलाउनेले सर्वसाधरणको मनोविज्ञानमा खेलेको स्पष्टै देख्न सकिन्छ । किनभने, सो खेलमा औषतमा २० जनामा एक जनाले मात्र जित्ने गरेको महोत्सव अवलोकन गर्न आउनुभएका रबि खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खेलेका छौँ, तर खेल खेलाउनेले हाम्रो मनोविज्ञानमा खेलिरहेका छन् ।”

बारम्बार एउटै स्थानिय कलाकारको प्रस्तुतिः– शुक्रबारबाट शुरु भएको महोत्सवमा स्थानिय कलाकारको नाममा कला घरका कलाकारले मात्र प्रस्तुति दिएको भन्दै दर्शकले नयाँ कलाकारलाई पनि स्थान दिनुपर्ने बताएका छन् । एक दिनमै कला घरका कलाकारले दर्जनौँ पटक प्रस्तुति दिँदा दर्शकलाई पट्यार लाग्ने गरेको कमलामाई नगरपालिका ४ का दिपेश सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो,“‘कला घरको प्रस्तुति राम्रो छ । तर, चिनि पनि धेरै खाएपछि नुनिलो हुन्छ अरे !”

ज्योतिको नाममा भिड तताउदैँ उद्घोषकः– गायिका ज्योति मगर सिन्धुली महोत्सव –२०७९ को प्रचारको मुख्य श्रोत बन्नुभएको छ । उद्घोषकले ज्योतिको नाम बारम्बार उचारण गर्दै दर्शकको ध्यान तानिरहेका छन् । मगर मंगलबार सिन्धुली महोत्सवमा प्रस्तुति दिन आउदैँ हुनुहुन्छ ।

प्रतिक्रिया