सिन्धुली– भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, सिन्धुलीका सहायक प्राबिधिक सरोज जिरेल चित्रकलामा पोख्त हुनुहुन्छ । दोलखाको जिरी नगरपालिका–४ का जिरेल तिनै हुनुहुन्छ जसले दुईवर्षअघि बनाएको निर्मला पन्तको रंगोलि पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक संजालमा शेयर गर्नुभएको थियो । जिरेलको दिमाग रचनात्मक छ । उहाँ फुर्सदको समयमा चित्रकला लगायत नयाँ नयाँ काम गर्न रुचाउनुहुन्छ । उहाँको तिनै रचनात्मक कला मध्यको एक ढुंगामा जनावरको आकृति बनाउनु हो ।
विद्यार्थी जिवनमा खोलाको बगरमा डुल्दै, ढुंगा खोजि त्यहि ढुंगामा जनावरको आकृति दिने जिरेल अहिले भने सरकारी सेवामा व्यस्त हुनुहुन्छ । उहाँले ढुंगामा बनाएको चित्रकला वास्तविक देखिन्छन् । अहिलेपनि फुर्सदको समयमा आफूले चित्रकलालाई समय दिने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ढुंगामा भन्दा पनि अहिले कपिमै चित्र बनाउँछु ।” आफूले खोजेजस्तो आकारको ढुंगा फेला पार्न मुश्किल हुनेहुँदा ढुंगामा चित्र बनाउन समय नभएको उहाँ बताउनुहुन्छ । उहाँले ढुंगागै बिरालो, खरायो, लाटोकसेरो, मृग लगायत दर्जनौँ जनावरको आकृति बनाउनुभएको छ । ढुंगामा बनाइएका ति चित्रहरु आफूसँग नरहेको उहाँ बताउनुहुन्छ । कलाले भरिएका ती ढुंगाहरु बेच्नकालागि प्रस्ताव नआएका पनि होइनन् । उहाँ भन्नुहुन्छ, “शौखकालागि बनाएको हुँ । व्यवसायीकरण गर्नैकालागि समय छैन । साथी भाईले बेच्न भन्नुहुन्छ । केहिलाई उपहार दिएको छु ।”
चित्र कोर्न रुचाउने जिरेलको कला सामाजिक संजालमा भाइरलनै भएका छन् । २०७७ सालको तिहारमा उहाँले बनाएको रंगोलि पत्रपत्रीका लगायत सामाजिक संजालमा छ्याप्छ्याप्ति भयो । उहाँले निर्मला पन्तको रंगोलि बनाएको तस्बिर सामाजिक संजालमा सार्वजनिक गर्नुभएको थियो । बलात्कारपछि हत्या भएको पन्तलाई न्याय दिलाउने उद्धेश्य सहित उहाँले पन्तको रंगोलि बनाउनुभएको थियो । छोटो समयमै उक्त तस्बिरले सामाजिक संजाल भरिएको थियो । पुर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाल समाजवादि पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि उक्त तस्बिर शेयर नगरि बस्न सक्नुभएन । पन्तले न्याय नपाएको भन्दै जिरेल भन्नुहुन्छ, ”रंगोलि बनाएको त्यो तिहारपछि मलाई तिहार मनाउन रहर लाग्न छोडेको छ ।
जिरेल सरकारी सेवामा प्रवेश गरेको धेरै समय भएको छैन । तर, उहाँको काम भने अनुभविको भन्दा कम नभएको सेवाग्राही बताउँछन् । उहाँल सिन्धुलीमा पहिलोपटक बायोफ्ल्क प्रविधिबाट माछा पालनकालागि परिक्षण गर्दै सफल हुनुभएको छ । आफैँले ट्यांकि देखि आवश्यक समाग्रीको निर्माण गरि बायोफ्ल्क प्रविधिबाट माछा पालनको परिक्षण गर्नुभएका जिरेल उद्यमीहरुलाई यस व्यवसायतर्फ आकर्षित गर्न सहजिकरण गरिरहनुभएको छ ।