सिन्धुली – राष्ट्रिय गौरवको आयोजनका सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण तीव्र गतिमा अघि बढेको छ ।
सुरूङ निर्माणका लागि टनेल बोरिङ मेसिन टिविएमले सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.२ कुसुमटारबाट गत असोज २८ गतेदेखि टनेल बोरिङ मेसिन (टीबीएम)ले खन्न थालिएको सुरुङमार्ग मंगलवार सम्म १ हजार ६ सय मिटर सुरुंङ खनिएको आयोजनाले जनाएको छ । कुनै भौगर्भिक समस्या नआए तोकिएको समयमै सुरूङ निर्माण सम्पन्न हुने सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक मित्र बरालले बताउनु भयो ।
सुनकोशी मरिण आयोजनाले २२ महिनामा टनेल खनिसक्ने लक्ष्य लिएको छ । १३ दशमलव ३ किलोमिटर सुरूङ खनेर सुनकोशी गाउँपालिकाको कानढुंग्रे नजिक सुनकोशी नदिमा निकालिने जनाएको छ ।
सुनकोशी मरिण आयोजनाको सुरूङभित्र प्रयोग गरिने सेगमेन्ट करिब २ हजारको हाराहारीमा प्रयोग भइसकेको उहाँले बताउनुभयो । सुरूङमा ५७ हजार सेग्मेन्टको प्रयोग हुने उहाँको भनाइ छ । चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम गरिरहेको उहाँले बताउनुभयो । कन्सल्टेन्टमा जेड कन्सल्र्ट प्रा.लि रहेको छ ।
टीबीएमले ८÷८ घण्टाका दरले ३ सत्रमा गरी चौबिसै घण्टा सुरुङ निर्माण गरिरहे बरालले सुनाउनु भयो । “अहिले दिनमा सरदर १८ मिटर र कुनै दिन ३८ मिटरसम्म सुरुङ खनिएको छ,” उहाँले भन्नुभयो, “५१ महिनामा सक्ने गरी कोभेकसँग सन् २०२१ मार्च १९ मा सम्झौता भएको थियो । अहिलेसम्म २० महिना बितिसकेको छ । कोभेकले अबको २ वर्षभित्रै सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्य राखेको छ । हालसम्मको प्रगति हेर्दा त्यो पूरा हुने देखिन्छ ।” यसअघि भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ठेक्का पनि यही कम्पनीले पाएको थियो । टीबीएम मेसिन जडान गर्न कुसुमटारस्थित प्रवेश मार्गमा ४० मिटर लामो सुरुङ मानिसले नै खनेका थिए । त्यसपछि २३० मिटर लामो उक्त मेसिन जडान गरेर थप खन्न थालिएको थियो ।
सुरुङ ५ दशमलव ५ डायमिटर पानी बग्ने भाग रहने गरी ६ दशमलव ६ डायमिटरको सुरुङ खनिएको छ । आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्र र डुवान क्षेत्रमा जग्गा अधिग्रहण र मुआब्जा वितरण लगायतका प्राविधिक सबै काम सकिएको छ ।
सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोशी नदीको पानी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ को कुसुमटारस्थित मरिण खोलामा खसालिने भएको छ । आयोजनाबाट ३१ मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ । सुनकोशी मरिण आयोजनाको निर्माण अवधि ५ वर्षको रहेको छ ।
सोही आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्लाहरू बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिंचाई सुविधा पुर्याउने रहेको छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अन्य संरचना निर्माण गर्न करिब ३० अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।