सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकामा दक्षिण कोरियाबाट गाईको बाच्छी ल्याइने भएको छ । हेफर इन्टरनेसनल नेपालले नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराएको १२१ वटा होलेस्टेन साँढे र गाईको बाच्छाबाच्छी मध्य ८१ वटा बाच्छी कमलामाई नगरपाालिका आइपुग्ने कमलामाई नगरका मेयर उपेन्द्र कुमार पोखरेलले बताउनुभयो । दक्षिण कोरिया सरकारको अनुदान सहयोगमा प्राप्त हुने ६ देखि ८ महिनाका कोरली होलस्टिन बाच्छीहरु कमलामाई नगरपालिका ५ का ५० जना किसानले प्राप्त गर्नेछन् । उक्त गाईका बाच्छिहरुबाट १७ महिना भित्रमा नगरका किसानले दुध उत्पादन गर्न सक्ने मेयर पोखरेलले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले माग गरेअनुसार हेफरले यी गाई तथा साँढे उपलब्ध गराउन लागेको हो । कमलामाईमा होलस्टिन गाई ल्याउन मन्त्रालयका सचिव दिपककुमार खरेल र मेयर पोखरेलबिच मन्त्रालयमा छलफल भएको थियो ।
हेफरले २० वटा होलेस्टेन साँढे (बाच्छा) र १०१ वटा होलेस्टेन गाई (बाच्छी) उपलब्ध गराउने भएको छ । पहिलो चरणमा पुस ७ गते बिहीबार ४२ वटा गाई तथा साँढे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पशु सेवा विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको हेफर इन्टरनेसनलका सञ्चार संयोजक प्रवीण गुरुङले जानकारी दिनुभयो ।
यी गाई र साँढे दक्षिण कोरियाबाट हवाईजहाजमा काठमाडौँ ल्याइँदै छ । १२१ वटा गाई र साँढेमध्ये सरकारलाई २० वटा साँढे र २० वटा गाई तथा बाँकी किसानलाई वितरण गरिने जनाइएको छ । हेफरले उन्नत जातको पाँच हजार डोज सिमेन (वीर्य) पनि उपलब्ध गराउने भएको छ । हेफरले दिएको ती गाई र साँढेमध्ये २० वटा साँढेलाई सरकारले चितवन, पोखरा, लहानलगायतका प्रजनन केन्द्रमा राख्नेछ भने बाँकी रहेका गाई आगामी पुष ९ गते कमलामाई नगरलाई हस्तान्तरण गर्ने जनाएको छ ।
किसान, हेफर र कमलामाई नगरपालिकाले गाई राख्नकालागि कनपा ५ माँ ५० वटा गोठ तथा विभिन्न पूर्वाधार तयार गरेको छ । मुख्य लगानी नगरपालिकाको भए पनि अन्य सबै प्राविधिक सहयोग हेफरले गर्ने भएको छ । घाँस उत्पादनदेखि अन्य आवश्यक व्यवस्था हेफरको सहयोगमा हुने बताइएको छ । यी प्रत्येक गाईमा चिप्स जडान भएका छन्, जसको माध्यमबाट दक्षिण कोरियाबाट गाईको स्वास्थ्यलगायतका कुरामा निगरानी हुने बताइएको छ । त्यसको रेखदेखको जिम्मा पशुसेवा विभागको पनि हो तर मुख्य जिम्मेवारी कोरिया सरकारको हुने बताइएको छ । हेफर इन्टरनेसनलले दिएको यी गाई र साँढेबाट मिल्की परियोजना सञ्चालन गरिने भएको छ ।
नेपालमा गाई तथा भैँसी पर्याप्त छन् तर उन्नत जातका नभएका कारण चाहिएको जति दूध उत्पादन भइरहेको छैन । त्यसले गर्दा बेलाबेलामा दूधको अभाव हुने गरेको छ । यसअघि सरकारले गत फागुनमा अमेरिकाबाट पनि उन्नत जातका सातवटा साँढे ल्याएको थियो । भारतबाट मुर्रा जातका भैँसी ल्याउने तयारी पनि भइरहेको छ ।