सिन्धुली – सिन्धुलीगढी युद्ध संग्राहलय विद्यार्थीको अध्ययन केन्द्र बनेको छ । तत्कालिन इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई गोर्खाली फौजले परास्त गरेको इतिहासका बारे जानकारी लिने विद्यार्थीका लागि युद्ध संग्रहालय अध्ययन केन्द्र बनेको हो ।
युद्ध संग्राहलयमा दैनिक पाँच सय देखि एक हजार सम्म विद्यार्थीहरु अवलोकन गर्न आउने गरेको युद्ध संग्राहलय प्रशासन प्रमुख रविन योन्जनले बताउनुभयो । “दैनिक पाँच सय देखि एक हजार सम्म विभिन्न विद्यालयबाट विद्यार्थी अवलोकनका लागि आउने गर्दछन् । अंग्रेज फौजलाई गोर्खाली फौजले कसरी हराए भन्ने बारेमा जानकारी लिने गरेका छन् । साथै गोर्खाली फौजले कस्तो हातहतियार प्रयोग गरेका थिए ? भन्ने जिज्ञासबारे विद्यार्थीले जानकारी पनि लिने गरेका छन् ,” उहाँले भन्नुभयो । पछिल्लो समय ऐतिहासिक सिन्धुलीगढी संग्रहालय इतिहासका सोधकर्ता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकहरूका लागि महत्वपूर्ण आकर्षण केन्द्र बन्दै गएको छ ।
नेपाललाई उपनिवेश बनाउन आएको इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लाको युद्ध संग्रहालयले पर्यटकहरूलाई मात्र नभएर अन्य इतिहासबारे जिज्ञासा राख्ने मानिसहरूलाई समेत अध्ययन अनुसन्धान गर्नको लागि महत्वपूर्ण स्थल भएको योन्जनको भनाइ छ ।
युद्धकला संग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र राखिएका छन । त्यस्तै तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र पनि संग्राहलयमा छन ।
साथै मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ । संग्रहालय अगाडि सिन्धुलीगढी युद्धका योद्धाहरू वंशु गुरुङ, वंशराज पाण्डे, श्रीहर्ष पन्त र वीरभद्र उपाध्यायको संयुक्त सालिक निर्माण गरी प्रतिस्थापन गरिएको छ । असोज १८२४ मा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इस्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई वंशु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको थियो ।