सिन्धुली – कमलामाई नगरपालिकामा लैंगिक सचेतना तालिम सम्पन्न भएको छ । मंगलबार कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्वन शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत तालिम सम्पन्न भएको हो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत ७ दिने व्यवसाय सचेतना तलिम र १ दिन लैगिक सचेतना तालिम सम्पन्न भएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ । कमलामाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालको अध्यक्षतामा तथा उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाको उद्योग शाखा प्रमुख, उद्योग शाखाका कर्मचारीहरू, ५ नं वडाका लघु उद्यमीहरूको सक्रिय उपस्थितिमा जम्मा ५० जनाको सहभागिता रहेको थियो ।