सिन्धुली – बहिनिको विवाहमा सिन्धुली आउनुभएको शान्ता विश्वकर्माको झण्डै ढेड लाखको गहना र महत्वपूर्ण कागजात भएको ब्याग हरायो
पाँचथर घर भएकि विश्वकर्माको कमलामाई मन्दिर जानेक्रममा शान्तिनगर मै ब्याग छुटेको थियो । उहाँले विवाहमा लगाउन ल्याएको सम्पूर्ण गहना ब्यागमा राख्नुभएको थियो । आफुले ओडेको सल सहित ब्याग कमलामाई नगरपालिका ६ स्थित शान्तिनगर चोकमा छुटेको उहाँले बताउनुभयो । “मन्दिर जानका लागि शान्तिनगरमा अटो कुरेका थियौँ । अटो चड्दा ब्याग त्यहि शान्तिनगर मै छुटेछ । मन्दिर पुगेपछि ब्याग हेर्दा नदेखेपछि बहिनीलाई कल गरेर तुरुन्त शान्तिनगर जान भनौँ । बहिनी शान्तिनगर पुग्दा त्यहाँ न मेरो सल थियो न त ब्याग नै । भएको सम्पूर्ण गरगहना राखेको ब्याग नै छैन ,” उहाँले भन्नुभयो ।
उहाँको श्रीमान दिपेन्द्र विश्वकर्मा पनि सँगै हुनुहुन्थ्यो । मन्दिर जान हतार भएको र आफ्नो बच्चा झगडा गरिरहेकाले दिपेन्द्रले पनि ब्यागको वास्ता गर्नुभएन । “मै पनि त्यस बेला ब्याग भए / नभएको वास्ता गरिन, मन्दिरमा पुगेपछि श्रीमतीले भनेपछि थाहा पाए । ब्याग श्रीमतीले नै बोकेकी थिइन । त्यसैले गर्दा पनि मैले याद गरिन ,” उहाँले भन्नुभयो ।
घरबाट निस्किदा ब्याग सँगै भएको उहाँ बताउनुहुन्छ । “घरबाट आउँदा त ब्याग थियो । शान्तिनगरमा बच्चाले दुख दियो । ब्याग राखेर श्रीमतीले बच्चालाई दुध पनि खुवाएकी थिइन् । त्यतिबेला ब्याग त्यहि छोडिए छ ,” उहाँले भन्नुभयो । सो ब्यागमा ६ आनाको तिलहरी, पाउजु, बाला, नगद १ हजार ५ सय र ति सुनको बिल र महत्वपूर्ण कागजात थियो ।
शान्तिनगरमा सिसिक्यामेरा छ भन्ने थाहा पाएपछि दिपेन्द्रलाई ब्याग भेटिने आश लागेको थियो । उहाँले तुरुन्त जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभयो । सिसिक्यामेराको सहायताले ब्याग भेटिने आशका साथ प्रहरी कार्यालय पुग्नुभएको दिपेन्द्र सिसिटिभि नै विग्रीएको रहेछ भन्दै निराश भएर फर्किनु भयो । प्रहरीले ब्यागको खोजतलास गरिरहेको छ । तर दिपेन्द्रलाई भने ब्याग भेटिने आश मरिसकेको छ । “खै अब कसरी भेटिएला र ब्याग ? दुइ दिन भइसक्यो, रेडियो लगाएत पत्रपत्रिकामा पनि सुचना दिएको छु । सिसिक्यामेरा नबिग्रीएको भए हाम्रो ब्याग सजिलैसँग भेटिन्थ्यो ,” उहाँले भन्नुभयो । घर जाने खर्च समेत नभएको उहाँले गुनासो गर्नुभयो । “सम्पत्तिको नाममा त्यहि अलिकति सुन थियो । त्यहि पनि हरायो, हस्ताक्षर गरेको चेकबुक पनि थियो, त्यो पनि छैन । अब त घर जानका लागि खर्चपनि छैन ,” उहाँले गुनासो गर्नुभयो ।
सो स्थानमा रहेको सिसि क्यामेरा बिग्रीएको कारण प्रहरीलाई पनि ब्याग कस्ले लग्यो भन्ने पत्ता लगाउन समस्या परेको छ । स्थानिय सरकार, प्रहरी, प्रशासनले चोरी साथै अपराधिक घटना घट्न नदिनका लागि सिन्धुलीमाढीको विभिन्न स्थानमा सिसिक्यामेरा जडान गरेको छ । लाखौँ खर्च गरेर जडान गरिएको सिसिक्यामेरा समयमा मर्मत नहुदाँ अपराधि साथै चोरलाई पक्राउ गर्न समस्या परेको छ ।