शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

चियाबारी–खुर्कोट सुरूङमार्ग निर्माणमा ढिलाई

आइतवार , मंसिर २५, २०७९

सिन्धुली – वीपी राजमार्ग अन्तर्गत सिन्धुलीका चियाबारी–खुर्कोट सुरुङमार्गको निर्माणको काम गर्न ढिलाई भएको छ । वीपी राजमार्गबाट चियाबारीबाट खुर्कोटसम्मको दूरी करिब ३९ किलोमिटर पर्दछ । तर चियाबारी–खुर्कोट सुरुङमार्ग ७.८ किलोमिटर मात्र हुनेछ । समय र इन्धनको बचत मात्र हैन सडक दुर्घटनाको जोखिमका लागि समेत चियाबारी–खुर्कोट सुरुङमार्ग अत्यन्तै प्रभावकारी रहने देखिएको छ । वीपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा ठूला सवारी साधन सञ्चालनमा समस्या आएपछि सरकारले विकल्पका रूपमा चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको हो ।

प्रत्येक वर्ष बजेटमा चियाबारीदेखि खुर्कोटसम्मको सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने भनिएपनि हालसम्म उलेख्य प्रगति भने हुन सकेको छैन । केही समसय पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को प्राविधिक टोलीले सार्वजनिक गरेको पूर्वसम्भाव्यता अध्ययन (प्रिफिजिबिलिटी स्टडी) ले सुरुङमार्ग बनाउन सुरुङ ४० अर्ब रुपैयाँ लाग्ने देखिएको छ । चियावारी–खुर्कोट सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन २०७६ सालमा सकिएको थियो ।

तर विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार नभएकाले यो अनुमानित लागत मात्र हो । वास्तविक लागत डीपीआर तयार भएपछि मात्र एकिन हुने जनाइएको छ । केही समय अघि सडक विभागका उच्च अधिकारी र जाईकाको परामर्शदाता टोलीबीच सुरुङमार्ग निर्माण सम्बन्धमा छलफल भएको थियो ।

सोही छलफलमा जाईकाले लागत रकम सहितको प्रिफिजिबिलिटी स्टडी प्रस्तुत गरेको हो । उक्त कुरामा सडक विभाग सकारात्मक रहेको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । जाईकाको कन्सल्ट्यान्ट टोलीको कुरामा सकारात्मक रही ३५–४० अर्ब रुपैयाँको आयोजना अध्ययन र निर्माण गर्न सन् २०३१ सम्म सम्पन्न गर्न आग्रह गरिएको समेत जनाइएको छ ।

खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माणका लागि अरूलाई अनुरोध नगर्ने जनाउदै विकास सहायता कार्यान्वयन महाशाखाले सडक विभागले सुरुङमार्ग सन् २०३१ सम्ममा निर्माण सम्पन्न गर्न अनुरोध गरेको बुझिएको छ । जाइकाले गरेको प्रारम्भिक अनुमान अनुसार चियावारी–खुर्कोट सुरुङमार्ग निर्माण गर्न ७.८ किलोमिटर सुरुङ र १.५ किलोमिटर सडक निर्माण गर्नुपर्ने देखिन्छ ।

जाईकाले तात्कालीन समयमा गरेको कुरामा सडक विभाग सकारात्मक रहेकाले थप अध्ययन गर्न आग्रह गरेको थियो । बनेपा–सिन्धुली–बर्दिबास वीपी राजमार्ग जाईकाको अनुदान सहयोगमा निर्माण भएको हो । चियाबारी–खुर्कोट सुरुङमार्ग बीपी राजमार्गमा पर्ने भएकाले सुरुङको निर्माण पनि जाईकाले नै गर्ने सम्भावना रहेको छ । वीपी राजमार्गमा सुरुङमार्ग र सडक गरेर करिब १० किलोमिटर निर्माण हुने भएको छ । सुरुङ मार्ग बनेपछि २५ किलोमिटर बाटो छोटो हुने पनि जाईकाको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया