सिन्धुली, – कमलामाई नगरपालिकाले सिन्धुली कारागारमा रहेका महिला तथा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान तथा अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सिन्धुली कारागार रहेका ८३ जना महिला तथा १२ जना बालबालिकाहरुलाईे कपडा वितरण गरिएको हो ।
न्यानो कपडा कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोख्रेल र उप प्रमुख मन्जु देवकोटाले हस्तान्तरण गर्नुभएको हो । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तगर्त यस अघि कमलामाई नगरपालिकाले सुरक्षित आवासमा रहेका ११ जना महिला तथा ३ जना बालबालिकाहरुलाई समेत न्यानो कपडा वितरण गरेको थियो । अभियानको अन्तिम दिन शनिवार कमलामाई नगरपालिका ६ स्थित लोकतान्त्रीक चोकमा दिप प्रज्वलन समेत गरिएको छ ।

कारगारमा न्यानो कपडा वितरण गर्दै कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले कैदीबन्दीहरुलाई आगामी दिनमा आफ्नो आनीबानीमा परिवर्तन गरि समाजमा असल नागरिकको पहिचान बनाउन आग्रह गर्नुभएको छ । साथै समाजमा सुशासन र पारदर्शिता युक्त निर्माणका लागि सबै जुट्नुपर्ने बताउनुभयो ।
त्यस्तै नगर उपप्रमुख मन्जु देवकोटाले देशमा गणतन्त्रको स्थापना हुदाँ समेत लैंगिक हिंसाका घटनाहरुलाई न्युनिकरण र निराकरण गर्ने अवस्था नरहेको बताउनुभयो । लैंगिक हिंसा कम गर्नको लागि सबै सरोकारवाला निकायहरुले अभियाननै संचालन गर्नुपर्ने उहाँले बाताउनुभएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्लामा बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म संचालन भएको अभियानमा यस बर्ष “सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने नारा सहित बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको हो ।