शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीगढीमा पर्यटकहरुको घुइँचो

बिहिवार , मंसिर २२, २०७९

सिन्धुली –सिन्धुलीगढी परिसरमा रहेको गढी दरबारको पुरानै ढाँचा र शैलीमा पुनर्निर्माण भएसँगै सिन्धुलीगढीमा विगतको तुलनामा पर्यटकहरुको घुइँचो लाग्न थालेको छ ।

पुनर्निर्माण निर्माण गरिएपछि छिमेकी मुलुक भारत तथा तेस्रो मुलकबाटसमेत पर्यटकहरु सिन्धुलीगढी अवलोकनका लागि आउन थालेका हुन् । हिजो आज दैनिक एक हजारबढी आन्तरीक तथा बाह्य पर्यटकहरुले सिन्धुलीगढी, युद्ध संग्रहालय तथा त्यहाँबाट देखिने सुन्दर दृष्यपान गर्ने गरेका छन् ।

कमलामाई नगरपालिकाले प्राथमिकतामा राखेर सिन्धुलीगढीको पूनर्निर्माणमा गरेसंगै पछिल्लो महिना यता अमेरीका, बेलायत, श्रीलंका, अष्ट्रेलिया, जापान, पाकिस्तान भारत लगायतका देशका नागरिकहरुले सिन्धुलीगढीको अवलोकन गरेका छन् ।

सिन्धुलीगढी दरबार भनेर चिनिने यो दरवार तत्कालीन अवस्थामा सिन्धुली र रामेछाप लगायतका विभिन्न जिल्लाहरु अर्थात पूर्व २ नम्बरको प्रशासन सञ्चालन गर्ने अड्डाका रूपमा रहेको थियो । सन् २०२० सालमा सिन्धुलीगढीबाट सबै प्रशासनिक कार्यहरु सदरमुकाम सिन्धुलीमाढी सारिएपछि यो दबार संरक्षणबिहीन भई भग्नावशेषमा परिणत भएको थियो ।

निकै लामो समयसम्म संरक्षणको अभावमा दरबार र सो क्षेत्रमा रहेका गढी किल्लाका भौतिक संरचना नष्ट हुँदै गएपछि गत वर्षदेखि बागमती प्रदेश सरकारको सहयोगमा सोही दरबारको पुनःर्निर्माण सुरु गरिएको हो । करिब ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयँको लागतमा गढी दरबार पुनर्निर्माण गरिएसँगै दरबारको स्वरूप र ढाँचा पुरानै शैलीमा देखिएको छ ।

तत्कालिन अवस्थामा रानी दरबार तत्कालीन श्री ३ जंगबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गरिएपछि पूर्व २ नम्बरको प्रशासन संचालन गर्ने बडाहाकिम र गोर्खाली फौज बस्नका लागि सुविधा भएको थियो ।सन् १८२४ असोज १५ गते सिन्धुलीगढीमा भएको युद्धमा गोर्खाली फौजले ब्रिटिस अंग्रेज फौजलाई परास्त गरेको इतिहास समेत रहेको छ ।

प्रतिक्रिया