शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा स्वास्थ्य बीमाबाट सहज छैन सेवा लिन

बिहिवार , मंसिर २२, २०७९

सिन्धुली – स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ । टिकट भित्र दिएपछि बाहिर घण्टौँ कुर्नुपर्छ । अनि बल्ल पालो आउँछ, एउटा बिरामीको स्वास्थ्य जाँच गर्न ।

अस्पतालमा हुने यस्तै झन्झटिलो प्रक्रिया झेल्न बाध्य हुनुभयो, सिन्धुलीको कमलामाई नगरपालिका–५ का तिर्थ थापा । “स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो छ”, उहाँ भन्नुहुन्छ, “बिरामी भएर अस्पताल आउने हो, छिटो र सहज हुनुपर्‍यो”, उहाँले भन्नुभयो । बीमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाइ हुने थापाले बताउनुभयो ।

स्वास्थ्य बीमा गरेर पनि औषधि बाहिर किन्ने बाध्यतामा हुनुहुन्छ, कमलामाई नगरपालिका ४ कि ७६ वर्षिय मन कुमारी लामिछाने । उहाँले सुरुआती चरणमा नै स्वास्थ्य बीमा गर्नुभएको थियो । बीमाका कारण उहाँ सधैँ उपचारका लागि सिन्धुली अस्पतालमै धाउनुहुन्छ । “आउँछु बीमाको कार्ड देखाउँछु ज्येष्ठ नागरिक भनेर छिटो–छरितो गर्छन् समयमै उपचार पाउँछु”, उहाँ भन्नुहुन्छ, “आधाभन्दा बढी औषधि बाहिर किन्न भन्छन्, यसरी त स्वास्थ्य बीमाको के अर्थ भयो र ?” उहाँले भन्नुभयो । स्वास्थ्य बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनुपर्ने लामिछानेको भनाइ छ ।

कमलामाई नगरपालिका–६ का अनिल खडका पनि स्वास्थ्य बीमा गरे पनि सबै औषधि निःशुल्क नपाएकामा चिन्तित हुनुहुन्छ । स्वास्थ्योपचार निःशुल्क हुने आशामा बीमा गरेको भन्दै खडकाले बीमा गर्नेहरूको उपचार निःशुल्क भएमा स्वास्थ्य बीमा अझै बढी प्रभावकारी हुने बताउनुभयो ।

तिनपाटन गाउँपालिका–६ का अन्जना पुलामी भने उपचारमा आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । उपचारमा केही ढिलाइ भए पनि स्वास्थ्य बीमाका कारण आर्थिक हिसाबले कमजोर भएकाहरू पनि उपचारको पहुँचमा पुगेको उहाँले भनाइ छ । “केही कमी–कमजोरी रहे पनि स्वास्थ्य बीमामार्फत हुने उपचारको सेवा राम्रो छ”, उहाँ भन्नुहुन्छ, “सबैले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्छ”, पुलामीले भन्नुभयो । नियमित औषधि प्रयोग गर्ने दीर्घरोगी र आकस्मिक बिरामी हुनेहरूलाई पनि स्वास्थ्य बीमाले धेरै राहत दिने भएकाले स्वास्थ्य बीमाबाट छुट्न नहुने उहाँको भनाइ छ ।

अस्पतालमा आकस्मिकबाहेक अन्य बिरामीका लागि भने स्वास्थ्य बीमा भए पनि वा नभए पनि उपचारको प्रक्रिया एकनासको रहेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार सिन्धुलीमा बीमा गर्नेहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ ।

प्रतिक्रिया