शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

दमकल खरिद गर्न सिन्धुली महोत्सव

मंगलवार , मंसिर २०, २०७९

सिन्धुली – आगामी पुस ८ देखि १८ गतेसम्म सिन्धुलीमाढीमा सञ्चालनहुने सिन्धुली महोत्सवबाट आएको मुनाफाले एक अत्याधुनिक दमकल खरिद गर्ने भएको छ । ‘कृषि उद्योग र पर्यटनमा अभिबृद्धि गरौ समृद्धि र समुन्नत सिन्धुली निर्माणका लागि अघि बढौ’ भन्ने मुलनाराका साथ सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सदरमुकाम सिन्धुलीमाढीमा हुने छैठौं सिन्धुली महोत्सव–२०७९ आयोजनाबाट भएको मुनाफाको रकमबाट दमकल खरिद गर्ने योजना बनाएर सिन्धुली महोत्सवको आयोजना हुन लागेको हो ।

जिल्लाको कमलामाई नगरपालिकाबाट सञ्चालित एउटा दमकल रहेपनि ठुला आगलागिका घट्ना हुँदा एउटा कम क्षमताको दमकले मात्रै अपुग हुने भएकाले अत्यावश्यक पर्दा दमकल अभाव देखिएकोले महोत्सवबाट हुने मुनाफाले अत्यधुनिक सुविधायुक्त दमकल खरिद गर्ने सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनु भयो । संघका अध्यक्ष श्रेष्ठका अनुसार करिब १ करोड २५ लाख रुपैया लाग्ने दमकल कमलामाई नगरपालिकाको साझेदारीमा खरिद गर्न लागिएको हो । दमकल खरिद गरेर नगरपालिकालाईनै सञ्चालनको जिम्मा दिइनेछ ।

 

दश दिनसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन र कृषिलाई विशेष प्राथमिकता दिइने आयोजक सिन्धुली उद्योग बाणिज्य संघले जनाएको छ । सांस्कृतिक चिनारीको आदानप्रदान गरी जिल्लामा व्यावसायिक व्यापारीकरण र पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा जिल्लामा उत्पादन हुने जुनार, अन्य कृषिजन्य वस्तु एवम् जडीबुटीको व्यावसायिक उत्पादन र स्थानीय लोकसंस्कृतिको जगेर्ना गरी आत्मनिर्भर सिन्धुली निर्माणको अभियान सफल पार्न सहज हुने उद्देश्य लिइएको छ । महोत्सवको आकर्षणका रुपमा सिन्धुलीको रसिलो जुनार, जिल्लाका अन्य विभिन्न उत्पादन, लोक सांस्कृतिक झाँकी र मुलुकमा निकै चर्चा कमाएका कलाकारहरुको प्रस्तुति हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

महोत्सवमा तीन सय ओटा व्यवस्थित सटर निर्माण गर्ने तयारी भएको छ । महोत्सव अवलोकनका लागि साधारण टिकट ६० रुपैया र परिचयपत्रका आधारमा अपाङ तथा विद्यार्थीका लागि बिस रुपैया छुट दिने व्यवस्था गरिएको छ । यस्तै जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निशुल्क महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया