सिन्धुली –सात वर्षपछि सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीको साधारण सभा तथा छैटौँ अधिवेशन हुने भएको छ । संस्थाको छैटौं अधिवेशन आगामी पुस ३० गते सिन्धुलीमाढीमा हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
संस्थाले गरेका कामहरुको समेत जानकारी दिदैं संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले अधिवेशनको तयारीका बारेमा जानकारी दिनुभएको थियो । अधिवेशनमा खानेपानीको तीन महिना भन्दा बढी पानीको विलको वक्यौता तिर्न बाँकी रहेका सदस्यहरुलाई चुन्ने र चुनिने अधिकार नदिईने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पुस २५ गतेसम्म ३ महिना अगाडीको वक्यौता भुक्तानी गर्नेले मात्र अधिवेशनमा सहभागि हुन पाउने निर्णय कार्य समितिको मंसिर १४ गतेको बैठकले गरेको श्रेष्ठले बताउनुभयो । उक्त बैठकले पुस १ गतेबाट लागु हुने गरि १५ जना करारका कर्मचारीलाई अस्थायी नियुक्ति दिने र १५ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेकोे छ ।
संस्थामा ३ हजार ४ सय ५५ घरधुरीले धारा जोडेका छन । संस्थाले निर्माण गरिरहेका आयोजनाहरु पूर्ण हुदा ३ हजार घरधुरीलाई थप पानी आपूर्ति गर्न सकिने संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बाग्मति प्रदेश अन्तर्गत २० करोड ६६ लाख बराबरको योजना सञ्चालनको तयारीमा रहेको छ । जस अन्तर्गत कमलामाई नगरपालिका ७ को ठूलीटारमा लिफ्ट गरेर रिजर्व ट्यांकी बनाउने काम ८० प्रतिशत सम्पन्न भईसकेको छ ।
कमलामाई नगरपालिका ५ मिलनचोकको काम ३० प्रतिशत सम्पन्न भएको छ । यी दुई योजनाले कनपा ६ को माढी बजार, धुराबजार, कनपा ५को मधुटारका ३ हजार घरधुरीलाई खानेपानी उपलब्ध गराउन सकिने छ । श्रेष्ठले तलब खुवाउन नसक्ने अवस्थाबाट पानी नियमित दिन सक्ने अवस्थामा संस्था पुगेको दावी गर्नुभएको छ । उहाँले आफ्नो दुई कार्यकालमा खानेपानीको व्यवस्थापन गरिएको तर पूर्ण व्यवस्थापन हुन बाँकी रहेको बताउनुभयो ।‘संस्था चल्न सक्ने बनाएका छौं, पूर्ण व्यवस्थित हुन निर्माणाधिन आयोजनाहरु पूर्ण रुपले सञ्चालनमा आउनुपर्छ,’ उहाँले भन्नुभयो । संस्थाले उक्त अवधिको ६० लाख ५ हजार पच्चिस रुपैंया वक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।
यस्तै, खानेपानी व्यवस्थापनका लागि संस्थाले ऋण लिएको र सो ऋण तिर्ने क्रममा रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले संस्थाले दुई पटक लिएको ऋण मध्ये अब ६ करोड १६ लाख २७ हजार ९१६ रुपैंया तिर्न बाँकी रहेको जानकारी दिनुभयो । कोषसँग डम्बर बहादुर खड्का नेतृत्वको समितिले ३ करोड, ९४ लाख ९५ हजार ९२८ रुपैंया र महेन्द्रदेव श्रेष्ठको पालामा २ करोड २४ लाख ४८ हजार ३६० रुपैंया ऋण लिईएको थियो । हालसम्म नगरविकास कोषलाई व्याज सहित ९८ लाख ५० हजार रकम बुझाईसकेको संस्थाले जनाएको छ । कोषबाट लिएको ऋणबाट दुई वटा खानेपानी मुहान, ८ वटा पानीट्यांकी र फिल्टरट्यांकी निर्माण गरिएको थियो । नेपाल सरकारको ७० प्रतिशत अनुदान, ५ प्रतिशत श्रमदान र नगर विकास कोषको २५ प्रतिशत ऋणमा उक्त आयोजना सम्पन्न भएको थियो ।