सिन्धुली – सिन्धुलीमा मध्यपहाडी लोकमार्गको निर्माणले सडक आसपासका जनताले घर आगनबाट सवारी साधनमा यात्रा गर्न पाएसँगै विकासका ढोकाहरू खुलेका छन् । सिन्धुलीका गोलन्जोर र फिक्कल गाउँपालिकामा लोकमार्गले स्थानीयको जनजीवनमा परिवर्तन ल्याएको छ ।
सडक निर्माणसँग सँगै सिन्धुलीका ग्रामिण क्षेत्रका स्थानीय उत्पादनले बजार पाउन थालेको छ । आफुले उत्पादन गरेका कृषि जन्य पदार्थ बिक्रीका लागि किसान र स्थानीय व्यापारी मध्यपहाडी लोकमागलाई व्यापारको केन्द्र वनाउन थालेका छन् । राजमार्ग छेउछाउमा यतिबेला कृषकहरुले आफुले उत्पादन गरेका फलफुल,तरकारी विशेषगरी मौसमी फलफुल बेच्न राखिएको देखिन्छ । सडक निर्माणसँग सँगै राजमार्गमा यात्रुको आवात,जावत पनि बढ्दै गएकाले यहाँको उत्पादन बिक्री गर्न सजिलो भएको हो ।
राजमार्ग र राजमार्गलाई जोड्ने भित्री सडकहरू सञ्चालनमा आउनुअघिसम्म बोटमै खेर जाने मौसमी फलफूलले अहिले आम्दानी दिन थालेको स्थानियको भनाईछ । राजमार्ग सञ्चालन हुनुअघि यहाँको उत्पादनले बजारको मुख देख्न पाउँदैन थियो । अहिले गाउँमै बिक्री भइरहेको छ । उनिहरुका अनुसार कुहिएर सकिने मौसमी फलफूल र तरकारीहरूले अहिले राम्रो भाउ पाउन थालेका छन् । यस क्षेत्रका किसानहरूले मौसमअनुसारका स्थानीय फलफूल बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । स्थानीय उत्पादनहरू बिक्री गर्न पाएपछि स्थानीय बासिन्दालाई जीविकोपार्जन गर्न सहज भएको छ ।
राजमार्गका यात्रु सबैले जिल्लाको स्थानीय उत्पादन नै खोज्छन् । मौसमी फलफूलमात्रै होइन, तरकारी पनि राम्रो बिक्री भइरहेको छ । पहिला घरमा बसेरै दिन बित्थ्यो । व्यापार गर्न थालेदेखि मासिक झण्डै ३० हजार कमाउने गरेको स्थानियको भनाई छ ।
यसैगरीमध्यपहाडी क्षेत्रका सयौं युवा गाउँमै होटल व्यवसाय गरेर आम्दानी गरिरहेका छन् । सोही क्षेत्रमा होटल मात्र साना–ठूला गरी ३ सय भन्दा बढी सञ्चालनमा आइसकेका छन् । जिल्लामा लोकमार्ग निर्माणले जग्गाको मूल्य समेत बढेको छ । पहिले २ लाख रूपैयाँ रोपनीमा पाईने जग्गाको मूल्य ३० लाखसम्म पुगेको छ ।
जिल्लाको खुर्कोटबाट घुर्मीसम्म लोकमार्गले छोएका जग्गाको मूल्यमा अत्यधिक वृद्धि भएको छ । सिन्धुलीका गोलन्जोर, फिक्कल गाउँपालिकासहित ओखलढुंगा, सोलु, खोटाङ र उदयपुर लगायतका जिल्लाका स्थानीय बासीन्दाहरूको जीवनस्तरमा परिवर्तन आएको छ । लोकमार्गले सिन्धुली हुँदै प्रदेश–१ को पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा र उदयपुर जिल्लालाई छोएको छ ।