सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिकामा बृहत खानेपानी आयोजनाको शिलान्यास भएको छ । मरिण गाउँपालिकाको वडा नं. ६ र ७ मा वितरण गर्ने लक्ष्य सहित निर्माण गर्न थालिएको खानेपानी आयोजनाको शुक्रवार गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले शिलान्यास गर्नुभएको हो ।
संघिय सरकारको एक घर एक धारा अभियान अन्तर्गत कुल १० करोड ८८ लाख ८२ हजार २५४ रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको मरिण गाउँपालिकाले जनाएको छ ।
दुई बर्ष भित्र खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी गत असार २७ गते आयोजनाको निर्माणको ठेक्का कालिका बिल्डर्स प्रा.लि काठमाडौंले् सम्झौता गरेको अध्यक्ष बिर्मश मोक्तानले बताउनुभयो ।
डिप बोरिङ अर्थात इनारबाट झन्डै एक किलोमिटर माथि डाँडामा ट्यांकी निर्माण गरेर त्यहाँबाट घरघरमा खानेपानी वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
मरिणको ६ र ७ नम्बर वडा अहिले शहरीकरण हुदै गएकाले पानीको समस्या हल गर्न यो खानेपानी आयोजना निक्कै महत्वपूर्ण हुने अध्यक्ष मोक्तानको भनाई रहेको छ । यो आयोजना पालिकाकै गौरवको आयोजना भएकाले समयमै निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई अध्यक्ष मोक्तानले सचेत गराउनु भएको छ ।