शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा तीन महिनामा झण्डै डेढ सय बढि उद्योग दर्ता

आइतवार , मंसिर ११, २०७९

सिन्धुली– सिन्धुलीमा तीन महिनामा झण्डै डेढ सय बढी नयाँ उद्योग गर्दा भएका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को तीन महिनामा एक सय ६१ वटा नयाँ उद्योग दर्ता भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीको प्रगति विवरण अनुसार श्रावणदेखि असोज महिनासम्म जिल्लामा ९५ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् भने ६६ वटा वाणिज्य उद्योग दर्ता भएको छ । उद्योग दर्ता गराउनेमा ४६ जना महिना उद्यमी र ५४ जना पुरुष उद्यमी रहेका छन् । ती उद्योग दर्ता वापत कार्यालयले कुल ११ लाख ४० हजार छ सय राजश्व संकलन गरेको छ ।

जिल्लामा सबै भन्दा बढि कृषि जना वनजन्य उद्योग दर्ता भएको तथ्यांकमा उल्लेख गरिएको छ । तीन महिनाको अवधिमा ५८ वटा त्यस्ता उद्योग दर्ता भएका छन् । कार्यालयको विवरणमा उल्लेख भए अनुसार तीन महिनामा दर्ता भएका उद्योगले कुल पुजि १८ करोड ७१ लाख ५० हजार रुपैँया देखाएका छन् । त्यस्तै, वाणिज्यतर्फ १० करोड ७३ लाख लगानी गरिएको विवरणमा उल्लेख छ । ती उद्योगबाट तीन सय १५ जनाले रोजगारी पाएका छन् ।

वर्षेनि उद्योग दर्ता बढ्दो

जिल्लामा बर्सेनि उद्योग दर्ताको संख्या बढ्दो छ । तर, ती उद्योगहरू सञ्चालनमा छन् या छैनन् भन्ने कार्यालयसँग कुनै जानकारी छैन ।

‘उद्योग दर्ता गर्न आउँछन्, केको लागि भन्दा यस्तो व्यवसाय गर्न या यस्तो उद्योग चलाउन भन्छन्’, कार्यालयका प्रमुख प्रबीण श्रेष्ठले भन्नुभयो, ‘सोधखोज त गरिन्छ, सबै कागजात र प्रक्रिया पुर्‍याएर आएपछि उद्योग दर्ता नगरिदिने कुरा पनि भएन तर दर्ता भएका उद्योगको अवस्था बुझ्न र अनुगमन गर्न हाम्रो बजेट र जनशक्तिले भ्याउँदैन ।’

दर्ता भएका कतिपय उद्योगले राम्रा र लोभलाग्दो काम गरिरहेका छन् भने गाँउ–गाँउमा रोजगारीको सिर्जना पनि गरेका छन् । तर, कतिपय उद्योगहरू भने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले दिने अनुदान र सहुलियत ऋण लिनका लागि मात्रै पनि दर्ता भएको देखिन्छ । “अहिले दर्ता भएका थोरैमात्र उद्योग नियमित रूपमा सञ्चालनमा छन्,” उहाँले भन्नुभयो, “सीमित फाइदाको लागि उद्योग दर्ता गर्ने प्रवृत्ति बढेको छ । सरकारी अनुदान, बैंक तथा सहकारीबाट सहुलियत ऋणलगायतका फाइदा लिन नयाँ उद्योग दर्ता गर्नेहरूको संख्या बढेको हो ।” अनुदान लिने उत्पादन नगर्ने तथा गरिए पनि देखाउनका लागि मात्र उद्योग सञ्चालनमा छन् ।

जिल्लामा स्थापना भएका घरेलु तथा साना उद्योगमध्ये अधिकांश सञ्चालनमा आउन सकेका छैनन् । आवश्यक जानकारी र सूचनाबिना नै अरूको देखासिकी र क्षणिक फाइदा हेरेर उद्योग स्थापना गरेको पाइन्छ । आफूले सञ्चालन गर्ने व्यवसायको भविष्य र त्यसका सम्भावनाका विषयमा राम्रो जानकारी नभई उद्योग दर्ता गर्दा उद्योगको संख्या बढे पनि परिणाम खासै नदेखिएको स्वय सरोकारवालाहरू नै स्वीकार छन् ।

संघसंस्थाले दर्ता भएका उद्योगलाई लगानी गर्न प्राथमिता दिने र नेपाल सरकारले दिने अनुदान पनि व्यक्तिभन्दा दर्तावाल उद्योगलाई नै महत्व दिने भएकाले जिल्लामा उद्योगको संख्या दिनप्रतिदिन बढ्न थालेको हो ।

प्रतिक्रिया