शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सरकारले घर बनाइदियो, खानका लागि केहि छैन

बिहिवार , मंसिर ८, २०७९

सिन्धुली – “सरकारले घर त बनाइदियो तर खानेपानी, सडक, स्वास्थ्य, रोजगारी केहि छैन । घर मात्रै भएर नहुने रैछ ,” दुधौली नगरपालिका ११ पत्रिगां मुसहर बस्तीका अधिकाशको गुनासो यस्तो छ । काँस तथा बासले बेरिएको छाप्रोमा बस्दै आएका दुधौली नगरपालिका ११ पत्रिगांका मुसहर समुदायको लागि बागमती प्रदेश सरकारले ११ करोड लागतमा एकृकित बस्ति निर्माण गरेको छ । दुइ वर्ष अगाडि मुसहर समुदायका लागि वितरण गरेको बस्तिमा खानेपानी, सडक, स्वास्थ्य, शिक्षा लगायत रोजगारीको व्यवस्था छैन । सो समुदायका विपन सदा बस्नका लागि घर भएपनि खानका लागि केहि नभएको गुनासो गर्नुहुन्छ । “घर त छ तर खानका लागि केहि छैन, रोजगारी छैन, पानी खान त मुस्किल छ ,” उहाँले भन्नुभयो, “तिन घण्टाको बाटो हिडेर खानेपानी ल्याउनुपर्छ, बिरामी भयो भने नजिक स्वास्थ्य चौकि पनि छैन ।”

विपन सदाका पाँच वर्षको छोरी र १० वर्षको छोरा छन् उनीहरु विद्यालय जादैनन् । विद्यालय टाढा भएको र पढाउनका लागि खर्च नभएको कारण आफ्नो छोराछोरी विद्यालय जानबाट बन्चित भएको उहाँले बताउनुभयो । “छोराछोरी कुनै पढ्द जादैनन्, विद्यालय टाढा छ । विद्यालय पठाएपनि बाटो मै खेलि बस्छन् । पढाउनका लागि खर्च पनि छैन ,” उहाँले भन्नुभयो, “यस समुदायको कुनै पनि बच्चा विद्यालय जादैनन् । सबै जनाको समस्या एउटै छ । निशुल्क पढाइदिने भएपनि कलम,कपि, लुगाहरु किन्नुपर्छ त्यो किन्न हामीसँगै पैसा हुन्न ।”

यस समुदाय सम्म पुग्नका लागि सडक पनि छैन । सडक नहुदाँ आवतजावत गर्न समस्या हुने गरेको चन्द्र सदाले बताउनुभयो । सरकारले सडक, खानेपानी, शिक्षा, स्वास्थ्यको सहज पहुँच पु¥याउने आश देखाएकोे उहाँ बताउनुहुन्छ । “सडक बनाइदिन्छु भन्थ्यो, यहि माथि खानेपानीको ट्यांकी राखेर खानेपानीको व्यवस्था गर्दिन्छु भन्थ्यो । हाम्रो समुदाय नजिकै विद्यालय, स्वास्थ्य चौकि हुन्छ भन्थ्यो । खै अहिले सम्म केहि छैन । हामीसँग रोजगारी पनि छैन । विहान र बेलुकाको खान धौधौँ छ ,” उहाँले भन्नुभयो, “काम नभएको दिन भोकै बस्नु पर्ने बाध्यता छ । ज्यालादारी काम छौँ, त्यहि काम पनि कहिले हुन्छ, कहिले हुदैन ।” सविना सदाको समस्या पनि त्यस्तै छ ।“ विहान खाए बेलुका के खाने भन्ने चिन्ता हुन्छ । काम पनि भेटिन्न । सरकारले घर बनाइदिए पनि खानका लागि केहि नभएको उहाँको गुनासो छ । घर राम्रो छ । खाने केहि छैन, नखाइ घरमा बस्न पनि सकिन्न, काम पनि पाइदैन । खेति पनि छैन ”, उहाँले भन्नुभयो ।

सो समुदायका बालबालिका २० वर्ष नपुग्दै विवाह गर्दछन् । तिर्थ सर्दा भन्नुहुन्छ, “यहाँ त चौध, पन्ध्र वर्षको उमेरमा विवाह गर्दछन् । शिक्षा नभएपछि उनीहरुलाई थाहा हुन्न कति वर्षमा विवाह गर्ने हो भनेर, अधिकाशं १४, १५ वर्षको उमेरमा आफुखुसि विवाह छन् । मेरौ १४ वर्ष छोरीको विवाह भैसक्यो । अहिले २ वटा बच्चा पनि छ ।” सो बस्तीमा ४४ वटा घर सरकारले बनाइदिएको छ । घरभएपनि अन्य सेवासुविधाबाट यस समुदाय बन्चित छ ।

प्रतिक्रिया