शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा सुरक्षा व्यवस्था चुस्त

शनिवार , मंसिर ३, २०७९

सिन्धुली – आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सिन्धुलीमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । जिल्लामा ८ सय बढी नेपाल प्रहरी, १४ सय म्यादी प्रहरी, प्रत्येक पालिकमा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

प्रहरीको गस्ती टोलीले सीमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै खुला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी जाँचमा पनि कडाइ गरेको छ । निर्वाचनलाई लक्षित गरी सवारी जाँचलाई कडाइसमेत गरिएको छ । प्रहरी नायब उपरीक्षक केसीले उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो ।

यस्तै, मतदानपूर्वको स्थिर समय सुरु भएपछि उम्मेदवारले निर्वाचन प्रचारप्रसार रोकिएका छन् । दलका प्रतिनिधि र सबै उम्मेदवार आन्तरिक छलफलमा जुटेका देखिँदो छ । भोलि आइतबार सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि बिहीबार मध्यरातदेखि खुला प्रचार अवधि सकिएर स्थिर समय सुरु भएपछि सबैको ध्यान मतदानमा पुगेको छ ।

जिल्लाका सबै क्षेत्रमा सुरक्षागस्ती बढेको छ । आम मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्ला प्रशासन कार्यालय र सम्बद्ध सुरक्षा निकायले जानकारी दिएका छन् । “हामीले जिल्लाभरिका सबै मतदानकेन्द्रको पटकपटक अनुगमन गरेर आवश्यक सुरक्षा प्रबन्ध सुदृढ गरेका छौँ”, जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भन्नुभयो, “आम मतदातासँग ढुक्क भएर मतदान गर्न हाम्रो अपिल छ ।” जिल्लाका कुनै भेग, क्षेत्र वा बस्तीमा अवाञ्छित गतिविधि हुन नपाओस् भन्नेमा स्थानीय प्रशासन र सुरक्षा निकाय सचेत, सजग र सक्रिय रहेको उहाँको भनाइ छ ।

सिन्धुलीमा निर्वाचनका लागि कायम रहेका २५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ५३ मतदान स्थल रहेका छन् । समितिका अनुसार ६४ संवेदनशील र ६४ कम संवेदनशील छन् ।

सबै ठाउँमा मतदान प्रयोजनका सामग्रीसहित मतदानकर्मी जनशक्ति पुगीसकेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरिका यी मतदानकेन्द्रमा दुई हजार एक सय ४२ जना (मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य आवश्यक जनशक्ति) परिचालित गरिएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

मतदान केन्द्रको स्वयंसेवी सुरक्षा प्रबन्धका लागि अस्थायी प्रहरी (म्यादी प्रहरी) र अन्य आवश्यक सुरक्षा जनशक्ति प्रत्येक मतदान केन्द्रमा पुगिसकेका प्रजिअ न्यौपानेको भनाइ छ । निर्वाचन अवधिभरि तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ छन् । मतदानस्थलको संवेदनशीलतालाई मध्यनजर गर्दै थप सुरक्षा जनशक्ति परिचालित गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । “कतै अप्रिय घटना नहोस् भन्नेतर्फ पूर्ण सजगता अपनाइएको छ, संवेदनशीलता वर्गीकरण गरिएअनुसार त्यसको समुचित प्रबन्धमा जनशक्ति परिचालित छ ्,।” प्रजिअ न्यौपानेले भन्नुभयो ।

मंसिर–४ गते बिहान सात बजेदेखि सुरु हुने मतदानको आवश्यक चाँजो र व्यवस्थापन पूरा भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन प्रयोजनको खुला प्रचार अवधि बिहीबार मध्यरातमै सकिएर अब स्थिर समय सुरु भएको हुँदा आचारसंहिताको पूर्ण पालनाका लागि सम्बद्ध सबैपक्षसँग पटकपटक अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्र छन् । दुवैतर्फ गरी ४२ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । जिल्लामा यसपटक कूल मतदाताको संख्या २ लाख ८ हजार ३ सय ६९ मतदाता छन् ।

प्रतिक्रिया