बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सुनकोशी गाउँपालिकालाई ओझेलमा पर्न नदिन मनोज जंग थापाको बृहत योजना

बुधवार , कार्तिक ३०, २०७९

सिन्धुली– सिन्धुलीको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार मनोज जंग थापाले सुनकोशी गाउँपालिकालाई ओझेलमा पर्न नदिन आफूसँग बृहत योजना रहेको बताउनुभएको छ । नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएको थापाले मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौँडा) र काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न भएपछि विपी राजमार्गमा सवारीसाधनको चाप घट्ने र सुनकोशीमा व्यापार व्यवसाय ओरालो लाग्नेप्रति आफू सचेत रहेको बताउनुभएको हो ।

नेकपा एमालेको बुद्धिजिवि परिषदको इन्चार्ज समेत रहनुभएका थापाले फास्ट ट्रयाक (७२.५ किलोमिटर) निर्माणपछि पुर्वि जिल्लाका मानिसहरुले काठमाडौँ जान द्रुतमार्ग प्रयोग गर्ने र विपी राजमार्गमा सवारीसाधनको आवतजावत स्वतः घट्ने बताउनुभयो । उहाँले कमलामाई नगरपालिका ९ मा रहेको भिमान बजारको उदाहरण दिदैँ भन्नुभयो, ‘माथिबाट बाटो गएपछि भिमानको तल्लो बजार सुक्यो । त्यस्तै, मदन भण्डारी राजमार्ग र फास्ट ट्रयाक निर्माणपछि विपी राजमार्गमा मान्छेको चहलपहल घट्नेछ ।’ सुनकोशी गाउँपालिकामा होटल, रेष्टुरेन्ट लगायत विभिन्न व्यवसायमा यहाँका मानिसले धेरै लगानी गरेको र अन्य दुई वैकल्पिक मार्ग सुचारु भएपछि सनुकोशीको व्यवसायलाई धरासायी हुन नदिन अहिलेबाटै योजना बनाउनुपर्ने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भविष्यमा सुनकोशी गाउँपालिकाको अर्थतन्त्र कमजोर हुन नदिन पर्यटनसँगै भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकावासिको आयआर्जन वृद्धि गर्न भुमिका खेल्नेछु ।’

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार थापाले जलश्रोत र भौगोलिक विविधतामा धनी सुनकोशी गाउँपालिकामा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउनुभयो । साहसिक खेलको ‘हब’ स्थापित गर्न आफूसँग स्पष्ट नीति र योजना रहेको थापाले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सुनकोशीमा साहसिक खेलमा थोरै लगानी गर्न सके खेल पर्यटनबाट धेरै फाइदा लिन सकिन्छ । साहसिक खेल स्थापित गर्न सुनकोशीलाई आवश्यक पर्ने ८० प्रतिशत पूर्वाधार प्राकृतिक रूपमै बनेको छ ।’ उहाँले सुनकोशीमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, ¥याफ्टिङ, डाउनहिल साइक्लिङ जस्ता साहसिक खेलको संभावना रहेको बताउदैँ खेल पर्यटनलाई जोड दिने बताउनुभयो ।

त्यस्तै, नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालासहित चार जना प्रधानमन्त्रीको पुख्र्यौलि थलो दुम्जालाई पर्यटकिय क्षेत्र बनाउन आफूले उच्च प्राथमिकतामा राख्ने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको संस्थापक सभापति विपी कोइरालाको जन्मथलोमा एतिहासिक संग्रहालय बनाउन तिव्रता दिनेछु । उक्त संग्रहालयले २००७ सालको क्रान्तिदेखि २०४६ सालको प्रजातान्त्रिक आन्दोलन हुदैँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको इतिहास बोल्नेछ ।’

उहाँले विपी, मातृका, कृष्याप्रसाद भट्टराई, गणेशमान सिंह, साहित्यकार धरणीधर कोइराला, महानन्द सापकोटा, दीर्घराज कोइराला, वरिष्ठ साहित्यकारहरु लेखनाथ पौडेल, बालकृष्ण सम लगायतले विसं २००८ मा स्थापना गरेको कुशेश्वर विद्यापीठलाई देशकै नमुना विद्यालय बनाउन निति निर्माण तहबाट आफूले महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिनुभयो ।

सुनकोशीमा साहसिक खेलको संचालन, विपीको पुख्र्यौलीथलोमा इतिहास बोल्ने संग्रहालय, र केहि किलोमिटर पर कमलामाई नगरपालिकामा रहेको ऐतिहासिक सिन्धुलीगढीले सुनकोशी गाउँपालिकामा पर्यटक भित्राउने थापाले विश्वास गर्नुभयो । त्यस्तै, लालबन्दी–दुम्जा सडक निर्माणलाई पूर्णता दिई सुनकोशी गाउँपालिकाबाट पर्यटककालागि ऐतिहासिक हहिरपुरगढी, घ्याङलेख र मरिणको बाटो खुल्ला गरिने थापाले बताउनुभयो । लालबन्दी–मरिण–दुम्जा सडक निर्माणलाई प्राथमिकतामा राखेर सनुकोशी गाउँपालिकालाई पर्यटनको हब बनाउन आफूसँग स्पष्ट नीति र योजना रहेको थापाले बताउनुभयो ।

इन्जिनियर समेत रहनुभएको थापाले फास्ट ट्रयाक र मदन भण्डारी राजमार्ग सुचारु भएसँगै सुनकोशी गाउँपालिकामा देखिने प्रभावहरुको मुल्यांकन गरि बृहत विकासकालागि आफूले योजनाहरु निर्माण गरेको बताउनुभयो । नेपाली सेनाले २०८१ साल पुषसम्ममा निर्माण सम्पन्न गर्नेगरि फास्ट ट्रयाक निर्माण गरिरहेको छ । त्यस्तै, मदन भण्डारी राजमार्गको निर्माण आ.व. २०८१/८२ मा सक्ने लक्ष्य सकित निर्माण भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया