सिन्धुली – कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय सिन्धुलीले प्रदान गर्दै आएको नागरिकता , राहदानी वितरण मंगलवार देखि स्थगन गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ ।
प्रशासनले सार्वजनिक सूचनामार्फत कार्यालयबाट निर्वाचन तयारी,शान्तिसुरक्षा,विपदब्यबस्थापन र मुद्वा बाहेक अन्य सवै सेवा मंगलवारदेखि आगामी मंसिर ५ गते सम्म बन्द भएको जनाएको छ ।
जिल्लाको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं नेपाली सेनाले गस्ती कार्यलाई निरन्तरता दिइरहेका छन् । आसन्न निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ ।
