शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीगढीमा २५५औँ विजयोत्सव मनाइयो

शुक्रवार , कार्तिक २५, २०७९

सिन्धुली — गोर्खा फौजले अंग्रेज सेनालाई हराएर नेपाल एकीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै सिन्धुलीको कमलामाई नगरपालिका– ३ मा रहेको सिन्धुलीगढीमा विजयोत्सव बिहीबार मनाइएको छ । विश्वमा साम्राज्य फैलाउँदै हिँडेको अंग्रेज सेनालाई हराई विरासत कमाएको दिनको सम्झनामा ऐतिहासिक सिन्धुलीगढीको २५५औं विजयोत्सव मनाइएको छ ।

२०६७ सालबाट नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले विजयोत्सव मनाउन सुरु गरेको थियो । सिन्धुलीगढी प्रवेशद्वार सोलाभन्ज्याङबाट गढी क्षेत्रमा प्रवेश गरिन्छ । गढी क्षेत्रमा सानोगढी, ठुलोगढी, पौवागढी, आड, टुँडिखेल, भग्नावशेष रहेको दरबार, मठमन्दिर, जेलघर, अदालत रहेका छन् । सेनाको युद्ध संग्राहलय निर्माणधीन अवस्थामा रहेको छ । गत वर्ष पृथ्वीनारायण शाहको शालिकसमेत गढी क्षेत्रमा राखिएको छ ।

वि.सं. १८२४ असोज १५ गते कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेर पठाएको सम्झनामा प्रत्येक वर्ष कात्तिक २४ गते नेपालको झन्डा फहराएर सलामी अर्पण गरी विजयोत्सव मनाइँदै आएको छ । तत्कालीन काठमाडौंका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न ब्रिटिस सेनाका कप्तान किनलोकको नेतृत्वमा आएको इस्ट इन्डिया कम्पनीका हजारौं फौजलाई वंशु गुरुङ नेतृत्वको वीर गोर्खाली फौजले सिन्धुलीगढीमा धुलो चटाएको इतिहासमा पाइन्छ । शिकारी सेना गुरुङको नवौं पुस्ताको परिवारले वंशु गुरुङको सम्झनामा पुस्तक प्रकाशन गरी लोकार्पण गरेका छन् ।

कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र पोखरेलले नेपाली राष्ट्रिय झन्डा फहराएर झन्डोत्तोलन गर्नुभएको थियो ।सदरमुकाम सिन्धुलीमाढीस्थित बर्दबहादुर गणका नेपाली सेनाले सलामी अर्पण गरेका थिए । सिन्धुलीगढीमा निर्माण गरिएको पृथ्वीनारायण साहको सालिकमा समेत माल्यार्पण गरिएको थियो । कलाघरका कलाकारहरूले पञ्चेबाजा, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कमलामाई नगरपालिकाले आफू मातहतका सरकारी कार्यालयलाई सार्वजनिक बिदा दिएको थियो ।

कमलामाई नगरपालिकाको समन्वयमा निर्माण भएको युद्ध संग्रहालयभित्र वृत्तचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्त्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, तत्कालीन युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोसाक प्रर्दशनलगायत संग्रहित गरिएको छ । सिन्धुलीगढी युद्ध र नेपाल एकीकरणका विषयमा युद्धविद् डा. प्रेमसिंह बस्न्यातले प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया