सिन्धुली – सिन्धुलीमा निर्वाचन आचारसंहिता विपरित राखिएको प्रचार हटाइएको छ । शनिबार देखि जिल्लाको विभिन्न पालिकामा निर्वाचन आचारसंहिता विपरित राखिएको प्रचार हटाइएको निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक तथा कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख हिरालाल भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार दुधौली नगरपालिकामा आचारसंहिता विपरितको प्रचार हटाउन निर्देशन दिएको छ । “दुधौली नगरपालिकामा दलहरुले सम्पर्क कार्यालय खोल्दा धेरै झण्डा तथा प्रचार राखेको भन्ने खबर आएको थियो । शनिबार बाटै हामीले त्यहाका प्रचार हटाउन निर्देशन दिएका थियौँ । केहि प्रचार शनिबार नै हटाइएको थियो ।” उहाँले भन्नुभयो । मंगलबार पनि इलाका प्रहरीले दुधौलीमा आचारसंहिता विपरितको प्रचार हटाएको थियो । जिल्लाको नौँ वटै पालिकामा निर्वाचन आचारसंहिता विपरितको प्रचार हटाउन निर्देशन दिएको भण्डारीले बताउनुभयो । हामीले सबै पालिकामा निर्वाचन विपरितका प्रचार हटाउन प्रहरीलाई निर्देशन गरेका छौँ । आचारसंहिता विपरितका प्रचार प्रहरीले धमाधम हटाइरहेको छ । उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा निर्वाचन आचारसंहिता अनुगमन समितिले आचारसंहिता कडाईका साथ लागु गर्न थालेको छ । प्रहरीले सार्वजानिक स्थानमा राखिएको झन्डा ब्यानर हटाउन थालेको छ । सार्वजानिक तथा निजी सवारी साधनमा राखेको झन्डा तथा सार्वजानिक घर विद्युतको पोल लगायतका स्थानमा राखेको झन्डा हटाइएको भण्डारीले बताउनुभयो । निर्वाचन आचारसंहितामा सार्वजानिक ठाँउमा झन्डा पोष्टर निर्वाचन चिन्ह टास्न राख्न नपाउने व्यवस्था भएकाले प्रहरी परिचालन गरेर हटाउन थालिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार निर्वाचन आचारसंहिता विपरितका कार्यसबै बन्द गर्न दलहरुलाई अनुरोध गरिएको र दलहरुबाट सार्वजानिक स्थानमा राखिएको भन्डा व्यानर हटाउन आनाकानी गरेपछि प्रहरीलाई हटाउन निर्देशन दिइएको हो । “सार्वजानिक स्थानमा झन्डा निर्वाचन चिन्ह पोष्टर टास्न नपाउने व्यवस्था छ”, उहाँले भन्नुभयो, “दलहरुले फाट्टफुट गर्नुभएको देखियो, हामीले हटाउनुस् भन्दा उहाँहरु सकरात्म देखिएपनि नहटाएपछि हामीले हटाएर सफा गर्न सुरु गरेका छौं ।”
भण्डारीका अनुसार जिल्लामा फेसबुक मार्फत आचारसंहिता विपरित प्रचारप्रसार गरेका उजुरी बढी आएको छ । हाल सम्म आठ वटा आचारसंहिता उल्लघन भएको उजुरी परेको उहाँले जानकारी दिनुभयो । सो आठ वटा उजुरी उपर कारबाहि तथा स्पटिकरण सोधि सकेको छ । निर्वाचन नजिकिएसँगै सुरक्षा व्यवस्था कडा पार्दै आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही समेत गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन आचारसंहितालाई ध्यान दिएर मात्रै प्रचारप्रसार गर्न र आचारसंहिता विपरित काम नगर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्देशन जारी गरेको छ ।