सिन्धुली – सिन्धुलीमा मतदाता शिक्षा प्रभावकारी नभएको मतदाताले गुनासो गरेका छन् । जिल्लाका मतदाता कसरी मतदान गर्ने भन्ने अन्यौलमा छन् । जिल्लामा कतिपय पहिलो पटक मत हाल्न जाँदैछन् भने दोहो¥याएर मतदान गर्न लागेकाहरू पनि कसरी भोट दिने अन्यौलमा देखिएका छन् । यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत बदर हुन नदिन दिइनुपर्ने मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मतदाता अलमलमा परेका हुन् ।
सुनकोशी गाउँपालिका ५ की सुकुमायाँ कार्की मतदान कसरी गर्ने भन्ने अन्यौलनमा हुनुहन्छ । कार्किले पहिलोपटक प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्दै हुनुहन्छ । “म पहिलो पटक मतदान हाल्दै छु । तर आज सम्म मलाई मत हाल्ने सहि तरिका थाहा छैन ।” उहाँले भन्नुभयो । मतदाता शिक्षा कार्यक्रम संचालन भएपनि आफुले थाहा नपाएको उहाँ बताउनुहुन्छ । “सुनकोशी गाउँपालिकामा पनि मतदाता शिक्षा कार्यक्रम भयो रे, तर हामीलाई थाहा नै छैन । गाउँपालिकाको कार्यालयमा कार्यक्रम हुन्छ, हामीलाई त्यहा पुग्न झण्डै ३ घण्टा लाग्छ,।” उहाँले भन्नुभयो ।
कमलामाई नगरपालिका ४ का निरोजन बस्नेत निर्वाचन कार्यालय सिन्धुलीको मतदाता शिक्षा कार्यक्रम सहर केन्द्रीत भएको गुनासो गर्नुहुन्छ । “आफुलाई सजिलो पर्ने ठाउँमा कार्यक्रम राख्छन् । गाउँगाउँमा आएर कार्यक्रम संचालन गरे प्रभावकारी हुनेथियो ।” उहाँले भन्नुभयो । निर्वाचन कार्यालय सिन्धुलीले जिल्लाका चार वटा पालिकामा मतदाता शिक्षा तथा नमूना मतदान कार्यक्रम संचालन गरेको जनाएको छ । तर मतदातालाई भने कार्यक्रम संचालन भएकै थाहा छैन । सुनकोशी गाउँपालिका ३ की सुनिता कार्किलाई गाउँपालिमा नमुना मतदान कार्यक्रम संचालन भएको थाहा छैन । गाउँपालिकामा केहि दिन अगाडि मात्रै निर्वाचन कार्यालय सिन्धुलीले गाउँपालिकाका कर्मचारी र केहि स्थानियको सहभागितामा गाउँपालिकाको कार्यालयमा कार्यक्रम गरेको थियो । गाउँगाउँका मतदाता भने सो कार्यक्रममा सहभागि थिएनन् ।
आगामी निर्वाचनको लागि प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्र रहनेछ । प्रदेश सभाका लागि पनि प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्रको रङ प्रतिनिधि सभाको जस्तै हुनेछ । आयोगका अनुसार मतदान केन्द्रमा पुगेका मतदाताले सुरुमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र उपलब्ध पाउने छन् । प्रतिनिधि सभा तर्फको मतपत्रमा मतदान गरेर पट्याइ मतपेटिकामा हालिसकेपछि मात्रै पालैपालो प्रतिनिधि सभा तर्फको समानुपाति र प्रदेश तर्फको प्रत्यक्ष तथा समानुपातिक तर्फको मतपत्र मतदाताले पाउने छन् ।
निर्वाचन आयोगका प्रतिनिधि उक्त जानकारी सहित आफुलाई पायक पर्ने ठाउँका मतदाता समक्ष मात्रै पुगेका छन् । उनीहरुले गाउँगाउँमा पुगेर सो जानकारी दिन सकेका छैनन् । ४ वटा मतपत्र रहने र मत हाल्ने तरिका बारेमा मतदाता अन्यौलमा रहिरहँदा उम्मेदवार र राजनीतिक दलहरू पनि मौन छन् ।