शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा चुनावको तयारी तीव्र

सोमवार , कार्तिक २१, २०७९

सिन्धुली – सिन्धुलीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ । चुनावका लागि आवश्यक सामग्री जिल्लामा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीकी सुचना अधिकारी गिता दाहालले बताउनुभयो ।

प्राप्त भएको मतपेटिका, मतपत्र, छेकावार, कोरा कपडा, स्वस्तिक छाप, मसी लगायत मतदान केन्द्रमा आवश्यक पर्ने सामग्रीलाई प्याकिङ गरेर तयार पारिएको छ”, उहाँले भन्नुभयो, मतदाता शिक्षा अभियान सञ्चालनसँगै कर्मचारी व्यवस्थापनको तयारीमा जुटेका छौँ ।” उहाँले भन्नुभयो । जिल्लामा २ हजार १ सय ३६ कर्मचारी मतदान केन्द्रमा खटाउन छनोटको प्रक्रिया थालिकाएको छ ।सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयबाट कर्मचारीको विवरण सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराइएको छ ।

बदर मतको दर घटाउन मतदाता शिक्षा कार्यक्रम प्रत्येक पालिकामा संचालन गरिरहेको उहाँले बताउनुभयो । मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायतका विषय सिकाइरहेको दाहालले जानकारी दिनुभयो । नौ वटा स्थानीयतह रहेको सिन्धुलीमा दुइ सय ६७ मतदान केन्द्र रहेको छ । मतदान स्थल १ सय ५१ रहेको छ । जिल्लामा कूल मतदाताको संख्या २ लाख ८ हजार ३ सय ६९ रहेको छ ।

यस्तै, १४ सय जना म्यादी प्रहरी भर्ना गरेर १० दिनको तालिम प्रदान गरी परिचालन गरिएको छ । दुइ प्रतिनिधिसभामा र प्रदेशसभामा चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचित हुने सात पदका लागि ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सिन्धुलीमा १ हजार २ सय २० अस्थायी मतदाता

सिन्धुलीमा १ हजार २ सय २० अस्थायी मतदाता रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर ४ गते हुने निर्वाचनका जिल्लाबाट १ हजार २ सय २० जना अस्थायी मतदाताको नामावली संकलन गरेको जिल्लानिर्वाचन कार्यालय सिन्धुलीका सुचना अधिकारी गिता दाहालले बताउनुभयो । जिल्लामा दुइ वटा अस्थायी मतदान केन्द्र राख्ने निर्णय गरिएको छ । जिल्ला काराघार सिन्धुली कमलामाई नगरपालिका ५ र जिल्ला हुलाक कार्यालय कमलामाई नगरपालिका ६ मा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको दाहालले बताउनुभयो । अस्थायी मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्ने उहाँले बताउनुभयो । अस्थायी मतदाताले सङ्घ तर्फको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

जिल्लामा निर्वाचनका लागि आवश्यक सबै मतपत्र आइसकेका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमका अनुसार निर्वाचनका लागि सङ्घ र प्रदेश तर्फ प्रत्यक्ष तर्फको आवश्यक मतपत्र जिल्लामा आइपुगेको छ ।

सिन्धुलीमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएकोे मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले बताउनुभयो । उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् । सिन्धुलीमा १ हजार २ सय २० जना अस्थायी मतदाता छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।

कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा चार कर्मचारी खटिने जनाइएको छ ।

 

प्रतिक्रिया