सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिका ७ की १८ बर्षिया कविता घोले मरिण गाउँपालिका वडा नं. ७ को सचिव बन्नु भएको छ ।
अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा आइतवार १८ बर्षिया कविता एक दिनको लागी वडा सचिव बन्नु भएको हो । दिवसको अवसरमा प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा सामुदायिक विकास विकास कार्यक्रम सिन्धुलीले आयोजना गरेको टेकओभर कार्यक्रममा किशोरी कविता वडा सचिव बन्नु भएको हो ।
एक औपचारिक कार्यक्रमका बिच मरिण गाउँपालिका वडा नं. ७ का वडासचिव डम्बर बहादुर आचार्यले किशोरी कवितालाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै किशोरीले समाजमा ब्याप्त लैंगिक बिभेद, बाल बिबाह, बाल हिंसा, श्रमिक बालबालिकाको सवालमा वडा कार्यालयको भुमिका बारे सवाल उठाउनु भयो ।
हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो ।
बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ । समाजमा जकडिएको लैङ्गिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुर्व्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो ।