शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका काँग्रेस मनोजजंग थापाको पक्षमा

आइतवार , कार्तिक २०, २०७९

सिन्धुली – सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर २ एमालेका उम्मेदवार मनोज जंग थापालाई नेपाली काँग्रेसले साथ दिएका छन् । सुनकोशी गाउँपालिकामा थापालाई काँग्रेसका नेताले सार्वजनिक रुपमै मत दिने घोषण गरेका हुन् । सुनकोशी गाउँपालिका थापाको प्रतिस्पर्धी माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’को गृह पालिका हो । यो संगै दाहाल आफ्नै पालिका सुनकोशी गाउँपालिकामा कमजोर बन्नु भएको छ ।

सो पालिकामा पूर्व शिक्षक तथा स्थानीय काँग्रेसका नेता केशव भट्टराईले निष्कलंक युवा व्यक्तित्व मनोजजंग थापालाई मत दिनु पर्छ भन्दै स्थानीय क्षेत्रमा सक्रिय भएर लाग्नु भएको छ । “काँग्रेसको उद्गम क्षेत्र, जहाँ वीपी कोइराला, उनका पुर्खाहरुले संघर्ष गरेको यो भूमिमा लोकतन्त्रको विरुद्ध लागेका, आफैलाई संरक्षण गर्दै आएका सिनियर नेताहरुलाई अपमान गर्ने, परिवारवादमा लिप्त, प्राकृतिक स्रोत कब्जा गर्न डनगिरी गर्नेहरुलाई मत दिएर हामीले देशलाई लोकतन्त्रको के शिक्षा दिन्छौ ? ” सो पालिकाका काँग्रेसका नेताहरुले भने ।

उनीहरु भन्छन, “राजनले सुनकोशी गाउँपालिकामा श्रीमतीलाई दुई/दुई पटक उठाएको, श्रीमतीलाई जिताउन ठूलो धनराशी खर्च गरेको, धाँधली गरेको, कतिपय ठाउँमा विपक्षीको एजेण्ट किनेको, काँग्रेसीहरु इमान्दारपूर्वक उनकी श्रीमतीलाई पालिकाको अध्यक्ष जिताउन लाग्दा पनि उल्टै सार्वजनिक रुपमा काँग्रेसले धोका दिएको भनेर गाली गरेकाले यसपटक हामीले राजन दाहाललाई मत किन दिने ?”

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलविरुद्ध अध्यक्ष प्रचण्डको आड र निर्देशनमा गुटबन्दी गरेर अपमान गरेकाले आफूहरु सक्रिय नहुने भनेर घ्याङलेख गाउँपालिकासहित धेरै ठाउँमा माओवादी केन्द्रका कार्यकर्ताहरु निस्क्रिय भएकाले राजन दाहाललाई ठूलो चुनौती बनेको छ ।

पार्टी अध्यक्ष प्रचण्डले तलैसम्म गुटबन्दी गरेर आफूलाई अपमान गरेर टिकट नदिएको भन्दै हरिबोल गजुरेलले पदाधिकारीको वैठकको माग राखेर काठमाडौंमा बसेको धेरै भयो तर प्रचण्डले हरिबोलको मागलाई सुनेको नसुन्यै गरिरहेकाले उनी निर्वाचनको महाअभियानमा सिन्धुली नगएकाले पनि राजनलाई असर गरिरहेको छ ।

तपाईं उठे हार्ने भएकाले राजन दाहाललाई टिकट दिएको भनेर अध्यक्ष प्रचण्डले भनेकाले पनि हरिबोलले धेरै अपमान महसुस भएको र आफू अलोकप्रिय, निर्वाचनको प्रचारमा हिंड्दा जित्ने राजन दाहाललाई नकारात्मक होला भनेर पनि आफू निर्वाचन क्षेत्रमा नआएको भन्दै हरिबोलले आफूसँग भेट्ने र फोन गर्ने कार्यकर्ताहरुलाई बताइरहेका छन् ।

माओवादीको सशस्त्र संघर्षका बेलामा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय मनोजजंग थापा यस क्षेत्रका एमाले उम्मेदवार छन् । जिल्लाका युवा नेता शान्तिमान कार्की यसै क्षेत्रमा सक्रिय भएर मनोजको अभियानमा लागेका छन् । शहीद शेरमान कुँवरकी जीवनसंगिनी तथा सशस्त्र संघर्षमा सहभागी निरु दर्लामी पनि मनोजजंग थापाको पक्षमा सक्रिय छिन् ।

सशस्त्र संघर्षमा दुःख पाएका कमल दाहाल, युवा नेता अशोक गिरीसहित थुप्रै पूर्व माओवादी केन्द्रका नेताहरु मनोजलाई जिताउन सक्रिय छन । माओवादी केन्द्रका नेता गणेश बुढाथोकीसहितका नेताहरु पनि मनोज जिताउन लागेका छन् ।

सशस्त्र संघर्षका बेलामा प्रशासनका सामु पत्रकार सम्मेलन गरेर हात उठाएर भारत पलायन भएका राजन दाहाल माओवादी केन्द्रका उम्मेदवार छन् भने सशस्त्र संघर्षका बेलामा मोर्चा सम्हालेर लडेका मनोज जंग थापा नेपाल कम्युनिस्ट पार्टीको निरन्तरता एमाले रहेको भन्दै एमालेबाट उम्मेदवार बनेका छन् ।

शालिन, भद्र, बौद्धिक व्यक्तित्व, स्पष्ट बक्ता, राजनीतिलाई धन्दा होइन सेवा भनेर मान्ने भएकाले सिन्धुलीको सदरमुकाममा उहाँको पक्षमा लहर नै चलेको देखिएको छ । सिन्धुलीका लोकप्रिय समाजसेवी उज्ज्वलबिक्रम थापा पनि मनोजको पक्षमा सकारात्मक देखिनुभएको छ ।

सुनकोशी गाउँपालिकामा करिब एक हप्ता घरदैलो अभियानमा हिंडेर सदरमुकाममा फर्किएका मनोजजंग निकै उत्साहित देखिनुभएको छ । उहाँ भन्नुहुन्छ, “म राजनीतिलाई देश, जनताको सेवा, समाज सेवा हो भन्ने मान्यताका साथ लामो समयदेखि इमान्दारितापूर्वक लागें, राजनीतिलाई कमाउने धन्धा होइन भन्ने मेरो मान्यता हो । म राजनीतिलाई व्यक्तिगत स्वार्थका लागि होइन देश र जनताको हितका लागि निरन्तर लागिरहनेछु । मेरो यो मान्यता भएकाले जहाँ जान्छु, जनताबाट धेरै ठूलो समर्थन र ऐक्यबद्धता पाएको छु ।”

प्रतिक्रिया