सिन्धुली – कमलामाई नगरपालिकामा फोहोर व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार कमलामाई नगरपालिका र मलेसियनको तेरा फिनिक्स ग्रुप अप कम्पनीविच फोहोरमैला व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका वातावरण शाखा प्रमुख सागर कुमार ढकालले नगरपालिकाले फोहोरमैला व्यवस्थापनको कार्य साथै वर्तमान अवस्थाको चुनौतीको विषयमा जानकारी गराउनुभएको थियो ।
यस्तै, तेरा फिनिक्स ग्रुप अप कम्पनीका अध्यक्ष तथा सहसंस्थापक डा. टानचिङ्ग सेर्योङ्गले कम्पनीले विभिन्न शहरहरुमा फोहोरमैला व्यवस्थापनमा गरेका उत्कृष्ट कार्य साथै फोहोरमैला व्यवस्थापनको चुनौती र अबसरहरुको वारेमा जानकारी गराउनु भएको थियो । साथै आफ्नो कम्पनी कमलामाई नगरपालिका पनि काम गर्न ईच्छुक रहेको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेलले उक्त कम्पनीलाई पालिकामा स्वागत गर्न पाउदा एकदमै खुशी लागेको बताउनुभयो । साथै उहाँले कम्पनीसँग सहकार्य गरि फोहोर व्यवस्थापनको कार्य अगाडी वढाउन नगरपालिका ईच्छुक रहेको बताउनुभयो ।
नगरप्रमुख उपेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, १४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, फोहोरमैला व्यवस्थापनका विज्ञ, शहरी विकास मन्त्रालयका इन्जिनियर र तेरा फिनिक्स ग्रुप अप कम्पनीका टोलीहरुको उपस्थिति रहेको थियो ।