शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

उम्मेदवारको घोषणमा निःशुल्क शिक्षा र रोजगारी हुनुपर्ने सिन्धुलीका युवाको जोड

शनिवार , कार्तिक १९, २०७९

सिन्धुली – राजनीतिक दल निकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका युवाहरूले भने उम्मेदवारसँग उनीहरूको घोषणामा शिक्षा निःशुल्क वा कम शुल्क हुनुपर्ने र रोजगारी अवसरमा उपलब्ध गराउन ध्यान दिनुपर्ने अपेक्षा गरेका छन् । उम्मेदवारहरूले पूर्वाधार विकास, सामाजिक विकास लगाएतका बढी विषय उठाएको पाइन्छ । दलका घोषणापत्रमा पूर्वाधारलाई बढी जोड दिएको छ । पहिलो पटक मतदान गर्न लागेका युवाहरू अपेक्षित उत्साह नभए पनि आफ्नो भोट हाल्न पाउने अधिकारको प्रयोगमा सचेत भएको पाइएको छ ।

पहिलो पटक मतदानमा सहभागी हुन लागेका कतिपय युवा जोसुकै जिते पनि फरक पर्दैन भन्ने भए पनि आफूले सोचेर र बुझेर मात्रै मतदान गर्छु भन्ने धेरै छन् । पाका उमेरका मानिसले विगतमा के के काम गर्‍यो वा पार्टीमा के योगदान छ भन्ने हेर्ने गरे पनि युवाहरूले भविष्यको सम्भावनामा बढी जोड दिएको पाइएको छ ।

कमलामाई नगरपालिका १० का १८ वर्षिय सरोज न्यौपाने पहिलो पटक मतदान गर्न लागे पनि निर्वाचनमा आफूले कसलाई र किन भोट हाल्ने भन्नेमा प्रस्ट हुनुहुन्छ । उम्मेदवारमध्ये पनि युवा व्यक्ति र कुनै न कुनै क्षेत्रमा ज्ञान हासिल गरेको र केही गर्छु भन्ने योजना भएको व्यक्ति छान्ने उहाँको भनाइ छ । प्राविधिक शिक्षाको विकास गर्ने सबैले भने पनि ठोस रूपमा हुन नसकेकाले अब विजयी भएर आउने व्यक्तिले प्राविधिक शिक्षाको विकासका लागि लगानी बढाउनुपर्नेमा उहाँको जोड छ । आफूले परिवारको दबाबमा नभएर आफ्नो इच्छाअनुसार नै मतदान गर्ने न्यौपानेले बताउनुभयो ।

युवाहरूले पारिवारिक पार्टीभन्दा पनि को ठीक छ र कसले काम गर्नसक्छ भन्ने हेरेर मतदान गर्नुपर्नेमा उहाँको भनाइ छ । हजुरबुबाहजुरआमा जुन पार्टी बुबाआमा एउटै पार्टी र आफू पनि त्यही पार्टीमा भोट हाल्नुपर्छ भनेर परिवारले दबाब दिने प्रवृत्ति गलत भएको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “म सधैँ व्यक्ति हेरेर भोट हाल्छु । यो पटक एउटा पार्टीलाई दिए पनि अर्काे पटक अर्काेलाई दिनेछु ।”

कमलामाई नगरपालिका ४ कि विनिता थापा पनि उत्साहका साथ पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । जुनसुकै दल वा व्यक्ति निर्वाचनमा विजयी भए पनि शिक्षाको विकासको ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षा क्षेत्र सेवा भए पनि अहिले व्यवसाय भइसकेकाले नियम बनाएर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले सुधार्न सक्ने थापाले बताउनुभयो । निजी कलेजहरू त्यसमा पनि प्राविधिक विषयमा अध्ययन गर्न महङ्गो भएकाले लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो ।

सुनकोशी गाउँपालिकाका पुजा नेपालीे अब विजयी हुने सांसदले शिक्षा, स्वास्थ्य, रोजगारी, संस्कृति विकास लगायतका सबै क्षेत्रमा विकासका लागि योजनाबद्ध रूपमा लाग्नुपर्ने बताउनुभयो । विकासको योजना बनाउँदादेखि नै युवालाई सहभागी गराउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “योजना बनाउनेदेखि कार्यान्वयनसम्ममा युवा सहभागी हुनुपर्छ ।” उहाँले अपेक्षा गरेका विषयमा ध्यान दिने उम्मेदवार देखिएको छ । नयाँ सोच भएका र युवा व्यक्तिले केही गर्न चाहे पनि अधिकांशले नपत्याउने हुँदा जित्न गाह्रो पर्ने उहाँको भनाइ छ । कतिपयले पटक पटक आश्वासन दिएर पूरा नगरे पनि पत्याउने तर युवा र केही गर्छु भन्ने फरक सोचका मान्छेलाई सबैले नपत्याउने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया