सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिन प्रक्रिया शुरु गरेको छ । गाउँपाकिलाले बिहिबार एक सूचना निकाल्दै एकल पुरुष निर्वाह भत्ता वितरणकालागि आवेदनको माग गरेको छ ।
मरिण गाउँपालिका स्थायी ठेगाना भई बसोबास गरिरहेका ५० बर्ष उमेर पूरा गरेका तर ६८ वर्ष नपुगेका, दलितको हकमा ५० बर्ष उमेर पूरा गरेका तर ६० बर्ष नपुगेका तथा अविवाहित दलित पुरुषको हकमा ४५ वर्ष उमेर पूरा गरेका तर ६८ बर्ष नपुगेका र अन्उ अविवाहित पुरुषको हकमा ४५ बर्ष उमेर पूरा गरेका तर ६० बर्ष उमेर नपुगेका नागरिकले वडामा आवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाको एकल पुरुषलाई निर्वाह भत्ता वितरण सम्बन्धी कार्यविधि, २०७९ को दफा ८ बमोजिम आवश्यक कागजातहरु संलग्न गरी सम्बन्धित वडा कार्यालयहरुमा १५ दिन भित्र आवेदन दिन गाउँपालिकाले सूचना प्रकाशित गरेको छ ।
एकल पुरुषले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा पत्नीको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि एवं पत्नीको अन्यत्रै विवाह हुन गइ एकल हुन पुगेको प्रमाण (सरजमिन मुचुल्का), अविवाहितको हकमा एकल पुरुष जनिने प्रमाण (सरजमिन मुचुल्का) लगायत अन्य आवश्यक कागजात एवं प्रमाणहरु वडा कार्यालयमा पेश गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत ऊँ दर्जिले जानकारी दिनुभयो । साथै, प्रत्येक वडाहरुले आवेदनको म्याद समाप्त भएको मितिले ५ (पाँच) दिन भित्र वास्तविक एकल पुरुषहरु एकीन गरी प्रमाणित कागजातहरु सहितको विवरण गाउँ कार्यपालिकाको कार्यालयमा उपलब्ध गराउन अनुरोध गरेको दर्जिले बताउनुभयो ।