सिन्धुली– बदर मत कम गर्ने उद्देश्यले सिन्धुलीमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बुधबार सिन्धुलीको गोलान्जोर र फिक्कल गाउँपालिकामा नमुना मतदान गराएको जनाएको छ ।

गाउँ कार्यपालिकाको प्रांगणमा गरिएको मतदानमा एक सय २० जनाले मतदान गरेकोमा नौ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका लेखापाल डिल्ली सौगात घिमिरेले जानकारी दिनुभयो । गाउँ कार्यपालिकाको मैदानको चारैतिर डोरीले बाँधिएको थियो भने छेउछाउमा प्रहरी तैनाथ थिए । बीचभागमा मतपत्र लेखिएको बाकस थियो । अर्कोतिर लाइन बसिरहेका मानिस थिए । उनीहरूले पालैपालो घेराबाट गएर नमुना मतपत्रमा मत दिएका थिए ।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिन्हमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो ।

विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले बताउनुभयो । उहाँका अनुसार जिल्लाको नाँैवटै स्थानिय तहमा नमुना मतदान कार्यक्रम संचालन हुनेछ । बिहिबार (आज) सुनकोशी र ध्याङलेख गाउँपालिकामा नमुना मतदान कार्यक्रम हुने उहाँले बताउनुभयो । साथै, नमुना मतदानमा सहभागी हुनकालागि उहाँले सर्वसाधरणलाई आग्रह गर्नुभएको छ ।