सिन्धुली– आगामी मंसिर ४ गते एकैसाथ हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावकालागि सिन्धुलीमा दुई हजार एक सय ३६ जना कर्मचारी खटाईने भएको छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा पाँच सय ४४ र प्रदेशसभा २ मा पाँच सय ५२ जना कर्मचारी खटाईने क्षेत्र नं १ का निर्वाचन अधिकारी पुरुषोतम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ मा कुल एक हजार ९६ कर्मचारी खटाईने छ ।
त्यस्तै, प्रदेशसभा २(१) मा छ सय आठजना र २(२) मा चार सय ३२ जना कर्मचारी खटाईने मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । क्षेत्र नम्बर २ मा कुल एक हजार ४० जना कर्मचारी खटाईने गौतमले बताउनुभयो ।
दुवै क्षेत्रका लागि कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीलाई सूचीकृत गर्दै जिम्मेवारी बाँडफाँटको गृहकार्य भइरहेको जनाइएको छ ।
यसपटक एकैचरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदा धेरै कर्मचारी खटाउनुपर्ने भएकाले निजामती कर्मचारीको अलावा माध्यमिक तहमा कार्यरत शिक्षक कर्मचारीलाईसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइने गरी तयारी भइरहेको गौतमले बताउनुभयो । मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एक रहने जनाइएको छ । एक मतदान केन्द्रमा आठ कर्मचारी परिचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यसपटक कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले समेत समानुपातिकतर्फ प्रदेशअन्तर्गत र प्रतिनिधिसभातर्फ मतदातामा सूचीकृत भएकाले मतदान गर्न पाउने भएपछि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र ब्यवस्थापन गरिने भएको छ । सरकारी कर्मचारीकालागि जिल्लाको कमलामाई नगरपालिका ६ स्थित शहरि विकासको कार्यालय र कैदिबन्दीलाई कमलामाई नगरपालिका ५ स्थित जिल्ला कारागारमा मतदानको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनुभयो ।
जिल्लामा कुल दुई लाख आठ हजार तीन सय ६९ मतदाता रहेका छन् । तीमध्ये एक लाख ७ हजार चार सय १० पुरुष र एक लाख नौ सय ५९ जना महिला मतदाता हुन् ।
जिल्लाको प्रदेशसभा १(१) मा ६८ र प्रदेशसभा १(२) मा ६९ मतदान केन्द्र गरि क्षेत्र नम्बर १ मा कुल एक सय ३७ मतदान केन्द्र रहेको छ । त्यस्तै, प्रदेशसभा २(१) मा ७६ र प्रदेशसभा २(२) मा ५४ गरि क्षेत्र नम्बर २ मा कुल एक सय ३० मतदान केन्द्र रहेको छ । जिल्लामा कुल दुई सय ६७ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले बताउनुभयो ।
सिन्धुलीमा छ पदका लागि ४३ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई प्रतिनिधिसभातर्फ २१ जना र चार प्रदेशसभा सदस्यकालागि २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो ।
सिन्धुलीमा कुल चार लाख बढि मतपात्र आयो
निर्वाचन आयोगले सिन्धुलमिा समानुपातिकतर्फका चार लाख ४४ हजार दुई सय मतपत्र पठाएको मुख्य निर्वाचत अधिकृतले जनाएको छ । निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले एक लाख १८ हजार प्रतिनिधिसभा, प्रदेशसभा १ मा ६१ हजार र प्रदेशसभा २ मा ५९ हजार गरि क्षेत्र नम्बर १ का लागि कुल दुई लाख ३८ हजार समानुपातिक मतपत्र सिन्धुली आइपुगेको बताउनुभयो ।
त्यस्तै, क्षेत्र नं २ मा प्रतिनिधिसभामा एक लाख एक हजार दुई सय, प्रदेशसभा १ कालागि ६४ हजार र प्रदेशसभा २ कालागि ५१ हजार गरि कुल दुई लाख ६ हजार दुई सय समानुपातिक मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो । आयोगले प्रत्यक्षतर्फको मतपत्र केहि दिनमै सिन्धुली ढुवानि गर्ने बताएको छ ।