शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको खुर्कोट यातायात कार्यालयमा हालसम्म १७ लाख बढि राजश्व संकलन

बुधवार , कार्तिक १६, २०७९

सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ स्थित खुर्कोटमा रहेको खुर्कोट यातायात व्यवस्था कार्यालयले हालसम्म १७ लाख बढि राजश्व संकलन गरेको छ ।

वागमती प्रदेश सरकारले पहिलो पटक ग्रामिण भेगका जनतालाई घर गाँउमा नै सहज रुपमा सेवा दिन स्थापना गरेको यातायात कार्यालयले पाँच महिनामा १७ लाख ४२ हजार पाँच सय ४३ रुपैँया राजश्व संकलन गरेको कार्यालय प्रमुख बिमल भट्टराईले जानकारी दिनुभयो । गत जेठ २० गते कार्यालय स्थापना गरेपनि असोज ४ गतेबाट ग्राहकलाई सेवा दिन शुरु गरिएको भट्टराईले बताउनुभयो । उहाँका अनुसार सवारी करबाट १५ लाख ८ हजार छ सय ९३ रुपैँया, ब्लुबुक नविकरणबाट एक लाख ३४ हजार दुई सय ५० रुपैँया, बाटो इजाजत पत्र नविकरण तथा अन्य दस्तुरबापत ९७ हजार छ सय रुपैँया, पटके (बाटो इजाजत पत्र) बाट २१ हजार तीन सय ३० रुपैँया र सवारी साधन आयकरबाट ४२ हजार राजश्व संकलन गरिएको छ ।

हाल खुर्कोट यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण, सवारी चालक नवीकरण, नवीकरण जाँचपास, कम्पनी रजिष्ट्रेशन लगायतको सुविधा दिएको छैन । खुर्कोटबाटै सबै सुविधा दिन पहल भइरहेको भट्टराईले बताउनुभयो । मध्य पहाडी लोकमार्गको नयाँ १० शहर मध्येको एक खुर्कोटमा सिन्धुलीसहित, रामेछाप, दोलखा, प्रदेश १ को ओखलढुगां, खोटाङ, सोलोखुम्बु, भोजपुर र उदयपुरका सेवाग्राहीहरुले सुविधा लिदैँ आएको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढि सिन्धुली र रामेछापका सेवाग्राहीले सेवा लिदैँ आएका छन् ।

सेवाग्राही सन्तुष्ट

मंगलबार ब्लुबुक नविकरण आउनुभएका सिन्धुलीको कमलामाई नगरपालिका ७ का किरण तामाङले जिल्लामै सुविधा पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सामान्य कामकालागि पनि अन्य जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ ।” विगतमा सामान्य सेवा लिनकालागि पनि अन्य जिल्लामा जानुपर्दा पैसा खर्च हुने गरेको तामाङले स्मरण गर्नुभयो । उहाँले आगामी दिनमा यहि कार्यालयले अन्य सेवासुविधा पनि थप्नुपर्ने बताउनुभयो । तामाङ जस्तै रामेछापको खाँडादेवि गाउँपालिकाबाट सवारी कर बुझाउन आउनुभएका अनिल खड्काले लाईसेन्स नविकरणदेखि अनुमतिपत्र दिन र अन्य सेवा सुविधा थप्नकालागि सम्बन्धित पक्षले पहल गर्नुपर्ने बताउनुभयो

प्रतिक्रिया