सिन्धुली– सिन्धुलीको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार श्याम कुमार घिमिरेले अबदेखि आफू सिन्धुली नै बस्ने बताउनुभएको छ । पार्टीले केन्द्रमै जिम्मेवारी दिएको हुँदा आफ्नो कार्यस्थलमा धेरै समय बिताउन नपाएको स्विकार्दै चुनाव जितेपछि आफू ढुक्कले काठमाडौँ नबस्ने र जनताको बीचमा आइरहने वाचा गर्नुभएको छ । घिमिरेले आफू सांसदको रुपमा निर्वाचित भए सधैँ जनताको बीचमा आइरहने बताउनुभएको हो ।
सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ डुँडभज्याङमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले मध्यपहाडी क्षेत्रको विकासको लागि दुई रणनीतिक सडक आफ्नो प्राथमिकतामा रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘मध्यपहाडी राजमार्गमा जोड्ने २ वटा रणनीतिक सडकको रुपमा शुलीभञ्ज्याङ–धापचौकी–भिमस्थान–भिमान जोड्ने पक्की सडक र नवलपुर–चकमके–डकाहा हुँदै गोदार निस्कने पक्की सडक ५ वर्षमा बनाउने कसम खाएको छु, यो मेरो सडक बाटोको रुपमा पहिलो प्राथमिकतामा पर्नेछ ।’
त्यस्तै घिमिरेले शिक्षाको विकास नभई मुलुक धनी नहुने बताउँदै सरकारी विद्यालयको स्तरोन्नती गर्न आफूले भूमिका खेल्ने दाबी गरे। सरकारी शिक्षाको स्तरोन्नति गर्नमा मुख्य भूमिका खेल्ने बताउनुभएको छ । उहाँले सीपमूलक शिक्षाको विस्तार गरेर आजको बजारमा बिक्ने शैक्षिक जनशक्ति उत्पादन गर्ने बताउनुभएको हो ।
आगामी चुनावपछि तिनै तहमा गठबन्धनको सरकार हुने भएकोले विद्युत विस्तार, खानेपानी, गाउँ जोड्ने सडक, गुणस्तरीय शिक्षा, स्वास्थ चौकी निर्माण, रोजगारीको सिर्जना, उत्पादन कृषि सामग्रीको लागि कृषकको बजारको व्यवस्था, कृषि सडकहरूको विकास गर्न सहज हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभाका उम्मेदवारसँगै जिल्लातहका अन्य नेतहरु पनि उपस्थित थिए। नेपाली कांग्रेसका नेता मोहन प्रसाद बरालले घिमिरेको कुरामा समर्थन गर्दै अहिलेको एकता व्यवस्था जोगाउने एकता रहेको बताउनुभएको छ ।
त्यस्तै प्रदेश सभा ’ख’ सदस्य उम्मेदवार रामकुमार पहाडीले आफूले नेतृत्व गरेको प्रदेशको समृद्धिको जिम्मा लिने बताएका छन्। उक्त कार्यक्रममा बोल्दै उनले सो क्षेत्रको भूबनोट विकट भएपनि त्यसमा अध्ययन गरेर विकासको खाका कोर्ने वाचा गरेका छन्।