सिन्धुली – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलका नेता–कार्यकर्ता र उम्मेदवार मतदाता रिझाउँन गाउँगाउँ पुगेका छन् । दलका नेता–कार्यकर्ता अहिले गाडी दुर्घटनामा ज्यान गुमाएका, पहिरो पीडितलगायत समस्यामा परेकाका परिवारलाई समवेदना दिन, किसानलाई बाली भित्र्याउन सहयोग गर्ने लगायत काममा पनि सहभागी हुन थालेका छन् । केहि दिन अगाडि गठबन्धन दलबाट सिन्धुली क्षेत्र नम्बर २ प्रतिनिधिसभामा नेकपा माओवादीको तर्फबाट उम्मेदवारी दिनुभएको राजन दाहाल कमलामाई नगरपालिकाको विभिन्न स्थानमा पुगि किसानलाई धान काट्न सहयोग गर्नुभएको थियो । किसानको खेतमै पुगेर मत माग्दै दाहाल, प्रदेशसभा २(१) मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएको छत्र बम्जन लगाएतका टोलीले धान काटन सहयोग गरेका हुन् ।
तर मतदाताहरू भने उनीहरूप्रति विश्वस्त छैनन् । निर्वाचनका बेला भोट माग्नु उम्मेदवारको अधिकार भए पनि किसानकै खेतमा पुगेर धान काट्ने, धान चुट्नेलगायत देखावटी काममा पनि लाग्न थालेको कमलामाई नगरपालिका –२ सरोज मग्रातीले बताउनुभयो । “अहिले नेताहरु एक भोटका लागि विभिन्न बहाना गर्न थालेका छन्, उनीहरूले १÷२ घण्टा काम गरेर के किसानको सबै दुःख हट्छ ? युवाहरु दिनप्रतिदिन बैदेशिक रोजगारीका लागि विदेश गइरहेका छन् । गाउँमा खेतला पाउन छोडेको छ । एकछिन धान काटदिएर, एकछिन धान झारेको जस्तो गरेर नाटक देखाउनु भन्दा पनि कृषि क्षेत्रमा बृहत्त विकास गर्न प्रतिवद्ध हुनुपर्यो ,” उहाँले भन्नुभयो ।
जिल्लाका अधिकाशं उम्मेदवारहरू अहिले कार्यकर्ता भेटघाट, घरदैलो, जनताका गुनासा सुन्नेलगायत काममा व्यस्त हुन थालेका छन् । अहिले सार्वजनिक स्थलहरू, चौतारो, चिया पसललगायत ठाउँमा पनि चुनावकै विषयमा कुराकानी हुन थालेका छन् । “नेताहरू गाउँ पस्न थालेपछि चुनाव नजिकिएको आभास हुन थालेको छ,” सुनकोशी गाउँपालिका ५ का एक स्थानियले भन्नुभयोे, “साना दलका र स्वतन्त्र उम्मेदवार भने अझै गाउँ पसेका छैनन्, अहिले गाउँमा चुनावकै विषयमा छलफल र भेटघाट हुन थालेका छन् ।” जितेर गएका नेताहरूले आफ्ना एजेन्डा भुल्दा अहिले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको उहाँको भनाइ छ । उहाँले ठूला दलका नेताहरूले वर्षौंदेखि एउटै आश्वासन देखाएर जनतालाई चुनावैपिच्छे ढाँटिरहेको आरोप लगाउनुभयो । उम्मेदवारसँग एक घर, एक रोजगारीको व्यवस्था गर्न माग गरिएको कमलामाई नगरपालिका ४ कि गिता विकले बताउनुभयो ।
२ वटा निर्वाचन क्षेत्र रहेका सिन्धुलीमा प्रतिनिधिसभा १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका श्याम घिमिरे र एमालेबाट निर्वतमान प्रदेशसभा सदस्य प्रदिप कटुवालबीच प्रतिस्पर्धा छ । प्रतिनिधिसभा २ मा नेकपा एमालेका मनोज जंग थापा र गठबन्धनबाट नेकपा माओवादीका लेखनाथ दाहाल (राजन) बिच प्रतिस्पर्धा छ । प्रदेशसभा १(१) मा नेकपा एमालेका सुवास देवकोटा र गठबन्धनबाट नेपाली काँग्रेसका मातृका भट्टराईबीच प्रतिस्पर्धा छ । यस्तै प्रदेशसभा १(२) नेकपा एमालेका कुमार बहादुर कार्कि (रामकुमार) र गठबन्धनबाट रामकुमार पहाडीबिच प्रतिस्पर्धा छ ।
यस्तै, प्रदेशसभा २(१) मा गठबन्धनबाट नेपाली काँग्रेसका छत्र बम्जन र नेकपा एमालेका निर्वतमान प्रदेशसभा सदस्य विनोद कुमार खड्काबीच प्रतिस्पर्धा छन् भने प्रदेशसभा २(२) मा नेकपा एमालेका रामकुमार पौडेल र गठबन्धन दलका नेसपाका गंगा श्रेष्ठबीच प्रतिस्पर्धा छ ।