सिन्धुली– सिन्धुलीको क्षेत्र नम्बर २ दुम्जामा रहेको सुनकोशी गाउँपालिकामा आइतवार नेकपा एमालेले जननायक स्वर्गीय विपी कोइरालाको फोटोमा माल्यार्पण गरि चुनावी अभियान शुरु गरेको छ । नेकपा एमालेले औपचारिक रुपमा नेता कार्यकर्ताको उपस्थितिमा सुनकोशीमा चुनावी अभियान प्रारम्भ गरेको हो ।
नेकपा एमालेले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपीसहित गिरिजाप्रसाद कोइराला, मातृका कोइराला र शुशील कोइरालाको पुख्र्यौली थलो २ नम्बर वडास्थित दुम्जाबाट चुनावि अभियान शुरु गरेको हो ।
विपीको फोटोमा माल्यार्पणगर्दै सिन्धुलीको क्षेत्र नम्बर २ का एमालेका तर्फबाट संघीय सदस्यको उमेदवार बन्नुभएका मनोजजंग थापाले माल्यार्पणकालागि मूर्ति समेत नुहुनु दुर्भाग्य भएको बताउनुभयो । थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा विपीले गर्नुभएको योगदानको स्मरणगर्दै अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगरी बलियो बनाउन आफु निरन्तर लागिरहने बताउनुभयो ।
उहाँले विपीले देखाउनुभएको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शबाट आफु अत्यन्त प्रभावित भएको र त्यसलाई अनुशरण गरिरहने प्रण गर्नुभयो । उहाँले देखाएको बाटोबाटै नेपालमा निरंकुश शासन व्यवस्थाको अन्त्य भएको बताउँदै सिन्धुली जिल्लाकै बौद्धिक उमेदवारसमेत मानिनुभएका थापाले इतिहासलाई विर्सने नभई सम्मान गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । थापाले नेपालको निरंकुशता बिरोधी आन्दोलनमा सहादत प्राप्त गर्ने महान शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
उहाँले नेपालका ऐतिहासिक क्रान्तिमा कोइराला परिवारले गरेको योगदानको स्मरण गर्दै सुनकोशीमा ऐतिहासिक थलो हुदाँहुदैँ पनि यसको संरक्षण र सम्बद्र्धन नहुनु दुखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मातृका, बिपी र गिरिजाप्रसादका पिता कृष्णप्रसादले बनाएको घर भग्नावशेष अवस्थामा छ । ऐतिहासिक घर १ सय ४ वर्षको निरंकुश जहाँनियाँ राणा शासनको अन्त्यकालागि विभिन्न समयमा प्रयोग गरिएको थियो ।”
२००७ देखि २०१७ हुदैँ २०४६ र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश निर्माण गर्न कोइराला परिवारले गरेको योगदानको कदर गर्दै आफू निर्वाचित भएपछि उहाँको जन्मथलोलाई संग्राहालयका रुपमा बिकास गर्न आफुले भूमिका निर्वाह गर्ने उदघोष गर्नुभयो । इन्जिनियर समेत रहनुभएका थापाले भन्नुभयो “विपी राजमार्गबाट ६ किलोमिटरमात्र भित्र रहेको ऐतिहासिक ठाउँमा संग्रहालय देखि विभिन्न संरचनाहरु बनाउन सकिन्छ ।”
बिपी, मातृका, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, साहित्यकार धरणीधर कोइराला, महानन्द सापकोटा, दीर्घराज कोइराला, बरिष्ठ साहित्यकारहरु लेखनाथ पौडेल, बालकृष्ण सम लगायतले विसं २००८ मा स्थापना गरेको कुशेश्वर विद्यापीठलाई नमुना विद्यालय बनाउन आफू लागिपर्ने थापाले बताउनुभयो । उक्त विद्यापीठ सहित क्षेत्र नम्बर २ को समग्र शिक्षा क्षेत्रको विकासमा आफू दत्तचित्त भएर लाग्ने थापाले बताउनुभयो ।
उहाँहरुले निकै ठूलो मेहनत र परिश्रम गरेर निरंकुश शासन सत्ताका बेला स्थापना गरेको विद्यालयलाई स्थानीय सरकारले चासो दिएन, उहाँहरुको योगदानलाई भुले । त्यसैले अब उहाँहरुको योगदानको उच्च मूल्यांकन हामीहरुले गर्नेछौं, इन्जिनियरसमेत रहनुभएका उमेदवार थापाले भन्नुभयो ।
कार्यक्रमा सहभागि क्षेत्र नम्बर २ प्रदेश ख का प्रदेशसभा सदस्य उम्मेदवार एवं पुर्व प्रदेश सांसद विनोद खड्काले सुनकोशीको समग्र विकासमा आफूले अघिल्लो कार्यकालमा धेरै बजेट ल्याउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ”सुनकोशी संभावनाको क्षेत्र रहेकोले अधिकतम बजेट ल्याए । अझैँ धेरै काम गर्न बाँकी छ । सुनकोशीवासिले सहयोग गर्नुहुनेछ भन्ने विश्वसत छु ।”
सुनकोशी गाउँपालिकाका विभिन्न वडाहरुमा एमालेले निर्वाचन केन्द्रीत कार्यक्रमलाई अगाडि बढाएको सुनकोशी पालिका कमिटीका अध्यक्ष अशोक गिरीले जानकारी दिनुभयो । कार्यक्रममा प्रतिनिधीसभा सदस्यतर्फकी समानुपातिक उमेदवार उमा कोइराला, रणकुमारी बलम्पाकी, एमाले नेताहरु कमल दाहाल, रमेश कार्की, शान्तिमान कार्की, रामकृष्ण श्रेष्ठ, बद्री दाहाल लगायतका नेताहरुले विपीको फोटोमा माल्यार्पण गर्नुभएको थियो ।