शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

चाडबाडमा यात्रु ठग्ने सिन्धुलीका २१ सवारीलाई कार्वाही

सोमवार , कार्तिक १४, २०७९

सिन्धुली– मौका छोपेर चाडबाडकोे समयमा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले कारबाही गरेको छ । बढी भाडा असुल्ने सवारीबाट रकम फिर्ता गरी ट्राफिक प्रहरीले यात्रुलाई फिर्ता दिएको छ । यात्रु ठग्ने २१ वटा सवारीलाई कारबाही गरी संकलन भएको ६१ हजार पाँच सय रुपैँया यात्रुलाई फिर्ता गरिएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीले बताउनुभयो । यात्रुलाई ठगेवापत ती सवारीबाट ४२ हजार रुपैँया जरिवाना असुलि गरिएको कार्कीले जानकारी दिनुभयो ।

दशैँ, तिहार र छठको समयमा ८ वटा बस, १० वटा हायस/माइक्रो र तीनवटा सुमोले २९५ जनासँग दररेटभन्दा बढि भाडा लिएको प्रहरीको तथ्यांकमा छ । बसमा सवार १६० जना, हायस/माइक्रोमा ११० जना, सुमो÷उईन्गरमा सवार २५ यात्रु गरि दुई सय ९५ जना यात्रुको रकम फिर्ता गरिएको कार्कीले बताउनुभयो । हरेक चाडबाडको समयमा यातायात व्यवसायीले यात्रुहरुसँग दररेट भन्दा दोब्बर भाडा लिनेगरेको यात्रुहरुले गुनासो गर्ने गरेका छन् । चाडबाडको समयमा सिन्धुली प्रहरीले सक्रियता बढाएपनि आफू भने ठगिएको सिन्धुलीको कमलामाई नगरपालिका ६ का दिपेन कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घर जानै पर्यो, यातायात व्यवसायीहरु खाए खाँ, नखाए घिच जस्तो गर्छन् । अरु विकल्पपनि छैन । दोब्बर भाडा तिरेरै सिन्धुली आईयो ।’

एक महिनामै झण्डै ३४ लाख बढि राजश्व संकलन

भदौँ महिनामा सिन्धुली ट्राफिक प्रहरीले ३३ लाख ९० हजार रुपैँया राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरि सवारी चलाएका ३२ सय ५० सवारीबाट उक्त जरिवाना संकलन गरिएको कार्कीले बताउनुभयो । तथ्यांक अनुसार सिन्धुलीमा सबैभन्दा बढि ट्राफिक नियम उल्लंघन गर्नेमा सुमो/उईँगर र हायस/माइक्रो अघि छ । भदौ महिनामा ८०३ वटा सुमो÷उईँगर र हायस/माइक्रोलाई कार्वाही गर्दा आठ लाख ६३ हजार राजश्व संकलन गरिएको कार्कीले बताउनुभयो ।

त्यस्तै, एक महिनामा ४९६ ट्रक, पाच सय ८२ बस, एक सय ५३ ट्रयाक्टर, सात सय ८३ मोटरसाइकल र चार सय ३३ अटो ट्राफिक कार्वाहीमा परेका छन् । ट्राफिक नियमको उल्लंघन गरेबापत ट्रकबाट पाच लाख १७ हजार, बसबाट छ लाख १४ हजार, ट्रयाक्टरबाट एक लाख ५८ हजार, मोटरसाइकलबाट आठ लाख १५ सय रुपैँया जरिवाना असुल गरिएको छ ।

प्रतिक्रिया