सिन्धुली – सिन्धुलीमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना बनाइदै छ । आइतबारबाट सो योजना कार्यान्वय हुने छ ।
तिहार लक्षित गरेर सुरक्षा योजना बनाएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । चाडपर्व आउन थालेपछि अवाञ्छित तत्वहरूद्वारा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावना रहेकाले पूर्व तयारीका साथ त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाइने उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालीको महान् चाड , दीपावली र छठ पर्वमा कुनै किसिमको अवाञ्छित गतिविधि एवम् उच्छृंखल तथा आपराधिक क्रियाकलाप हुन नदिई भयरहित, शान्तिपूर्ण वातावरणमा पर्व मनाउने उद्देश्य अनुसारको योजना बनाइने छ । तिहारमा कुनै पनि आपराधिक घटना हुन नदिन सो योजना बनाइने उहाँले जानकारी दिनुभयो । “तिहारमा कुनै पनि आपराधिक घटना हुन नदिन हामीले विषेश योजना बनाउने तयारी गरेका छौँ । रातको समयमा हिड्डुल गर्न, रातको समयमा देउसी,भैलो खेल्न, पटाका पकाउन निषेद लगाएका विषयलाई समेटि योजना बनाउँदै छौँ ,” प्रजिअ न्यौपानेले भन्नुभयो ।
सो योजना आइतबारबाट कार्यन्वय हुने उहाँले जानकारी दिनुभयो । जिल्लामा कुनैपनि अपिय घटना हुन नदिने योजनाको बनाएको उहाँको भनाइ छ । सुरक्षित तवरले चाडपर्व मनाउने वातावरण सृजना गर्ने उहाँले बताउनुभयो । सर्वसाधारणमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै चाडपर्वलाई सुरक्षित, मर्यादित र सभ्य बनाउन सुरक्षा योजना बनाएको प्रजिअ न्यौपानेले बताउनुभयो ।
यस्तै, जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले तिहार लक्षित गरेर शान्तिसुरक्षा कडाइ गरेको छ । तिहारमा पटाका भित्रीन नदिन जिल्लाका विभिन्न नाकामा चेकजाचँ गरिरहेको छ । शंकास्पद व्यक्तिहरू एवं सार्वजनिक स्थलमा हुने गतिविधिको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत नियन्त्रण तथा अपराधिक प्रवृत्तिका मानिसहरूको पहिचान र निगरानीमा प्रहरी सक्रियता बढाइएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक स्थलहरूमा हो–हल्ला एवं झै–झगडा गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
सवारी साधनमाथि आकस्मिक चेकजाँच सुरु गरिएको छ । चाडपर्वका बेला हुनसक्ने विभिन्न घटनाबाट बच्न सबैलाई सजग गराउँदै सर्तकता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिर लगायत भक्तजनहरूको भीडभाड एवं घुइँचो हुने स्थानको सुरक्षामा विशेष ध्यान दिइएको छ । भीडभाडमा हुने चोरी, डकैती र लुटपाटका घटना, मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रण लगायतमा पनि प्रहरीको ध्यान जान थालेको छ । चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।