सिन्धुली– जिल्ला बाल सञ्जाल सिन्धुलीले शुक्रबार सिन्धुलीको प्रमुख पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा बालबालिकालाई दुरुपयोग नगरियोस् भन्दै जिल्ला बाल सञ्जाल सिन्धुलीको आयोजना तथा रिलिफ नेपाल र वर्ड भिजनको सहयोगमा ध्यानाकर्षण पत्र बुझाईएको हो ।
बालबालिकाले ध्यानाकर्षण पत्र मार्फत बालबालिकाको विकासलाई प्रदेश तथा संघीय सरकारको गौरवको योजनाको रूपमा घोषणापत्रमा राख्दै कार्यान्वयनको दिशामा अघि बढ्नका लागि सुझाव दिएका छन् । ध्यानाकर्षण पत्रमा बालबालिकाको सर्वोत्तम हितलाई मध्यनजर गरी निर्वाचन घोषणापत्रमा बालबालिकाको सवालहरुलाई उच्च प्राथमिकतामा राख्न विशेष आग्रह गरेका छन् ।
ध्यानाकर्षण पत्रमा बालमैत्री स्थानीय शासन, पोषणयुक्त संघ तथा प्रदेश, बालविवाह मुक्त देश, बालश्रममुक्त देश, किशोरकिशोरीमैत्री संघ तथा प्रदेश, परम्परागत हानिकारक अभ्यासको अन्त्य, विद्यालयलाई कुनै पनि किसिमको राजनीतिक गतिविधिको रूपमा प्रयोग नगरिने सुनिश्चितता, सबै बालबालिकाका लागि निःशुल्क, प्रविधि सहितको अनिवार्य शिक्षा, सुरक्षित विद्यालय र बालमैत्री सिकाई व्यवस्था हुनुपर्ने माग उल्लेख गरेका छन् ।