सिन्धुली – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनकालागि निर्वाचन आउन एक महिना बाँकी छ । चुनाव नजिकिएसँगै राजनैतिक दलहरु आफ्ना उम्मेदवारलाई जिताउन विभिन्न तिक्डम गरिरहेका छन् ।
जिल्लामा एक दलले अर्को दललाई कमजोर बनाउन पार्टी प्रवेश कार्यक्रमहरु भइरहेको छ । सिन्धुलीमा बिहिबार नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा तिनजना प्रवेश गरेका छन् । त्यस्तै, माओवादी केन्द्र त्यागेर एकजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेको अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रको,फिक्कल गाउँपालिकाका इन्चार्ज मुरारी भण्डारीलाई एमालेमा पार्टी प्रवेश गराउनुभएको छ । बागमती प्रदेश कमिटि सदस्य एवं सहकारी विभागका सचिव भण्डारीलाई बिहिबार अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुभएको हो ।
त्यस्तै, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य माधब कार्की, युवा संघ नेपाल सिन्धुलीका जिल्ला सदस्य राजेश अधिकारी दनुवार र कमलामाई नगर कमिटि सदस्य जनीमाया मुदेल माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उनीहरुलाई माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ ले पार्टीमा प्रवेश गराउनुभएको हो ।