शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा दुइ लाख बढी समानुपातिक मतपत्र आइपुग्यो

बिहिवार , कार्तिक ३, २०७९

सिन्धुली – आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सिन्धुलीलाई आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुगेको छ । निर्वाचन प्रणालीतर्फको दुइ लाख १९ हजार २ सय ३३ थान मत रुजु गरेर भण्डारण गरिएको निर्वाचन मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोगबाट प्राप्त मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर भण्डारण गरिएको छ । निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत पुरुषोतम खतिवडाका अनुसार उहाँको निर्वाचन क्षेत्रमा एक लाख सात हजार एक सय ३६ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फका लागि एक लाख १८ हजार थान मतपत्र प्राप्त भएको छ ।

यस्तै क्षेत्र नम्बर एकको प्रदेशसभा (क) ६१ हजार थान र प्रदेशसभा (ख) मा ५९ हजार थान मतपत्र प्राप्त भएको छ । उक्त मतपत्र रुजु गरेर ठिक पाइएसँगै लाहाछाप लगाएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नं २ मा एक लाख एक हजार २ सय मतदाताका लागि प्रतिनिधिसभा तर्फ एक लाख १ हजार एक सय ३३ थान मतपत्र प्राप्त भएको निर्वाचन क्षेत्र नम्बर दुइका निर्वाचन अधिकृत भरत दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा ५६ हजार पाँच सय २३ मतदाताका लागि ६४ हजार मतपत्र आएको छ भने, प्रदेशसभा (ख) मा ४४ हजार सात सय १० मतदाताका लागि ५१ हजार थान मत्रपत्र प्राप्त भएको छ । ती मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ४३ र समानुपातिकतर्फ ..उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन कार्यक्रमअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारहरूका लागि ‘उम्मेदवार परिचयपत्र’ वितरणको काम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट भइरहेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

आम निर्वाचनका लागि जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा दुई लाख ८ हजार तीन सय ६६ मतदाता कायम छन् । निर्वाचनका लागि जिल्लाभरमा १ सय ५१ मतदानस्थलमा दुइ सय ६७ मतदान केन्द्र्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पा कुमारी झाले जानकारी दिनुभयो ।

जिल्लामा राजनितिक दलका नेता तथा उम्मेदवारले निर्वाचन आचारसहिंंता उल्लखन गरेपनि कुनै पनि लिखित उजुरी नआएको निर्वाचन अधिकृत भरत दाहालले बताउनुभयो । निर्वाचन आचारसहिंता अनुगमन समितिका अधिकृत हिरा लाल भण्डारीका अनुसार मौखिकरुपमा आचारसहिंता उल्लखन गरेको जानकारी आएको छ । “फोनबाट दुइ जनाले आचारसहिंता उल्लखन भएको जानकारी गराएका थिए । लिखित रुपमा भने आज सम्म कुनै यस्तो उजुरी आएको छैन । हामीले पनि अनुगमन गरिरहेका छौँ ।” उहाँले भन्नुभयो । हाल जिल्लामा आचारसंहिता उल्लखनका उजुरी नआएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया