शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका युवाहरु राष्ट्रिय खेलाडी भएको देख्न चाहान्छु : एमाले उमेदवार थापा

बिहिवार , कार्तिक ३, २०७९

सिन्धुली– प्रतिनिधीसभा सदस्य उम्मेदवार मनोजंग थापाले आउँदो मंसिर ४ गतेको निर्वाचनलाई प्रभावित पार्न मतदाताहरुलाई धम्क्याउने, तर्साउने र आतंकित पार्ने काम हुन सक्ने बताउँदै युवाहरुलाई नागरिकको मताधिकारको रक्षाका लागि क्रियाशिल हुन अपील गर्नुभएको छ ।

एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको कमलामाई नगरस्तरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै थापाले सो कुरा बताउनुभएको हो ।

फरक राजनैतिक दलका नेता कार्यकर्ताहरुले मतदातालाई धम्क्याउने, मतदानस्थलसम्म जान नदिने, उहाँहरुमाथि मनोबैज्ञानिक त्रास फैलाउने जस्ता निर्वाध मतदान गर्न पाउने अधिकार कुण्ठित गर्नेकाहरु हुने भएकाले त्यस तर्फ युवाहरुलाई सचेत रहन र योग्य जनप्रतिनिधी चुन्न पाउने अधिकारको रक्षाका लागि लागि पर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधीसभा सदस्य क्षेत्र नं. २ का उम्मेदवारसमेत रहनुभएका थापाले मतदान केन्द्रको सुरक्षा गर्ने र निर्वाध रुपमा मतदान गर्ने वातावरण बनाउने दायित्व पनि युवाहरुकै बाँधमा आएको बताउनुभयो ।

निर्वाचन अभियान अन्र्तगत पुगेको अधिकांश ठाउँहरुको एउटै समस्या रहेको र मतदाताले ठूलो माग नगरेको खुलासा गर्नुभयो । उहाँले अगाडि भन्नुभयोः जनताले खानेपानी, सिंचाई कुलो, सडक र स्वाथ्यका कुरा राख्नुभएको छ, त्यो समग्र निर्वाचन क्षेत्र र जिल्लाकै समस्या हो । भेटघाटका क्रममा जनताले राख्नुभएको समस्याहरु ठूला समस्या होइनन् तर ती समस्याहरु एमालेको नेतृत्वमा सरकार बनेपछि समाधान हुने जिकिर गर्नुभयो । उहाँले देशको सबैभन्दा ठूलो समस्या भनेको राजनैतिक अस्थिरता हो । आउँदो निर्वाचनमा एमाले १३७ सिट नजितेसम्म मुलुकको ठूलो समस्याको रुपमा रहेको राजनैतिक अस्थिरता समाप्त नहुने र यसले बैदेशिक हस्तक्षेप अझ बढेर जाने बताउनुभयो । उहाँले अगाडि भन्नुभयोः सिन्धुली जिल्लाबाट समानूपातिकसहित प्रतिनिधीसभामा ४ जनाले जित्नै पर्ने जिकिरगर्दै एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका उम्मेदवार थापाले मुलुकमा राजनैतिक स्थिरता कायम राख्नका लागि पनि एमालेका उमेदवारहरुले जित्नै पर्ने बताउनुभयो ।

उहाँले सिन्धुलीका युवाहरु अन्य जिल्लाको तुलनामा पछाडि परेको र उनीहरुलाई राष्ट्रिय स्तरमा चिनाउन र बलियो बनाउन एमालेले मात्रै योजना बनाउनसक्ने ठोकुवा गर्नुभयो । सिन्धुलीका युवाहरुमा मैंले निकै ठूलो आत्मविश्वास, लनशिलता र क्षमता देखिरहेको छु । थुप्रै प्रतिभाहरु छन्, कला साहित्य र अध्ययनशिलता सिन्धुलीको गहना भएको बताउँदै थापाले अगाडि भन्नुभयो– सिन्धुलीका युवालाई उत्पादनमा जोड्न र कुनै पनि एक खेलमा राष्ट्रिय टिम उत्पादनगरी सिन्धुलीको पहिचान गराउन चाहिरहेको छु, त्यसका लागि युवाहरुले बलियो आत्मविश्वासका साथ काम गर्न जरुरी छ ।

उहाँहरुले युवाहरुको भूमिकाले मात्रै मुलुकमा राजनैतिक स्थिरता कायाम हुने बताउँदै त्यसैलेनैं आर्थिक, सामाजिक र पारिवारिक स्थिरता पैदा हुने बताउनुभयो ।

नेपालको राजनीतिमा लामो कालखण्ड बिताउनु भएका इन्जिनियर थापाले युवाहरुलाई आर्थिक उत्पादनमा जोड्नका लागि केही नयाँ कुराको थालनी हुनेसमेत खुलासा गर्नुभयो ।

विगतमा युवाहरुका लागि कुनै ठोस कार्यक्रम अगाडि नबढेपनि अब सिन्धुलीका युवाहरुको समन्वयमा देश विदेशमा आफ्नो प्रतिभा फैलाउन पाउने उद्घोष गर्नुभएको छ ।

कार्यक्रममा एमाले प्रदेशसभा सदस्य उमेदवार विनोदकुमार खड्काले युवाहरुलाई निर्वाचन लक्षित कार्यक्रमहरु सञ्चालन गर्न र मतदाताको सुरक्षाका लागि विषेश भूमिका खेल्न आग्रह गर्नुभयो । युवाहरुलाई प्रशिक्षणात्मक मन्तव्य दिंदै उमेदवार खड्काले फरक दलका तर्फबाट हुने आतंकलाई निस्तेज पार्न र मतदातालाई निर्भयका साथ मतदान केन्द्रमा जाने अबस्था सिर्जना गर्ने अभिभारा पुरा गराउन आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फकी उम्मेदवार रणकुमारी बलम्पाकीले युवाहरु एमालेको बलियो खम्बा भएकाले आउँदो निर्वाचनमा एमालेका उमेदवारलाई विजयी गराउने गहन जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी प्रतिनिधीसभा सदस्य समानुपातिक तर्फकी उमेदवार एवम् एमालेका केन्द्रीय सदस्य उमादेवी कोइरालाले युवाहरुलाई निडरताका साथ पार्टीका उमेदवारहरुलाई विजयी गराउनका लागि निर्देशन दिनुभयो । एमाले २ नम्बर निर्वाचन क्षेत्रीय परिचालन कमिटीका संयोजक कमलजंग राई र उपाध्यक्ष कर्ण घिसिङले निर्वाचनका सन्दर्भमा आवश्यक रणनीति र कार्यनीतिका विषयमा युवाहरुलाई सुझाव दिनुभएको थियो ।

 

प्रतिक्रिया