शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा २२ जना प्रहरी पुरस्कृत

मंगलवार , कार्तिक १, २०७९

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ६७ औं प्रहरी दिवसको अवसर पारेर प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत उत्कृष्ठ २२ जना सक्कल दर्जाका प्रहरीलाई पुरस्कृत गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आयोजित कार्यक्रममा प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विमल राज कणेलले उत्कृष्ठ २२ जना प्रहरीलाई नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

कार्यसम्पादन मुल्यांकनका आधारमा इलाका प्रहरी कार्यालय भिमानमा कार्यरत प्रहरी निरिक्षक प्रदिप महत, इलाका प्रहरी कार्यालय खुर्कोटमा कार्यरत प्रहरी नायव निरिक्षक चित्रबहादुर खुलाल मगर, इलाका प्रहरी कार्यालय बस्तिपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक मुक्ती प्रसाद पनुहर, ट्राफिक प्रहरी कार्यालय खुर्कोटमा कार्यरत प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डे लगायत २२ जनालाई पुरस्कृत गरिएको हो ।

यस्तै कार्यक्रममा अमर प्रहरीका आफन्त, प्रहरीलाई निशुल्क जग्गा उपलब्ध गराउने र प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विभिन्न विधामा विजेता तथा रक्तदान गर्ने सम्पूर्ण व्यक्तिलाई समेत कार्यक्रममा सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले शहिद राष्ट्रका हुने उहाँहरुको उचित सम्मान पनि राज्यले नै गर्नुपर्ने बताउनुभयो । “राज्य प्रति उत्तरदायी बन्दै गर्दा कर्तव्य पालनका शिलशिलामा धेरै प्रहरीहरु शहिद हुनु भएको छ । उहाँको निधनले परिवार जनमा गहिरो पिडा हुनु स्वभाविक हो । उहाँहरुको योगदानको कदर गर्दै राज्यले नै उचित सम्मान गर्नुपर्छ,” पोखरेलले भन्नुभयो । नेपाल प्रहरीले राष्ट्र र राष्ट्रियताका लागि, शुशासन र शान्ति सुरक्षाका खेलेको भुमिकाको उच्च प्रशंसा गर्दै पोखरेलले प्रहरी र नागरिकविचको सम्बन्ध अझ सुमधुर हुनुपर्नेमा जोड दिनुभयो ।उहाँले आफु जनप्रतिनीधि भएका नाताले प्रहरी संगठनको बृद्धि विकासका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता गर्नुभयो ।

यस्तै, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने (क्षितिज)ले हरेक आम नेपालीले स्वतन्त्रताको अनुभुति गर्नुमा नेपाल प्रहरीको ठुलो भुमिका रहेको बताउनुभयो । “इतिहासका विभिन्न कालखण्डमा राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र जनताको जनजिविकामा नेपाल प्रहरीले खेलेको भुमिकाकै कारण आज आम नेपालीले स्वतन्त्रताको अनुभुती गर्न पाएका हुन । यसमा नेपाल प्रहरीको संगठन, श्रम पसिना र विवेकको प्रयोग भएको छ,” उहाँले भन्नुभयो । जनताको हक अधिकार र सुरक्षामा प्रहरीको अहम भुमिका रहेको न्यौपानेको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको प्रमुख आतिथ्यता तथा कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख उपेन्द्र कुमार पोखरेलको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात), घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, कमलामाई नगरपालिका ५ का वडा अध्यक्ष पूर्ण खड्का, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठका साथै बर्दबहादुर गण, शसस्त्र प्रहरी बलका प्रमुख तथा प्रतिनीधि, विभिन्न कार्यालयका प्रमुख, पूर्व प्रहरी कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो

प्रतिक्रिया