सिन्धुली– प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आउन ३२ दिन मात्र बाँकी रहदा सिन्धुलीमा चुनावि गतिविधि बढेको छ । आगामी मंसिर ४ गते एकैसाथ हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावकालागि उम्मेदवारहरु स्थानियको घरदैलोमा पुग्दै आफ्नो योजना सुनाइरहेका छन् । जिल्लाको दुईवटै क्षेत्रमा नेकपा एमाले र लोकतान्त्रिक वाम गठबन्धनबिच कडा चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । दुवै क्षेत्रमा मुख्य दलका उम्मेदवारहरु ‘हेभिवेट’ रहेका छन् ।
‘हेभिवेट’ उम्मेदवार मध्ये सिन्धुलीको क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मनोज जंग थापा पनि एक हुनुहुन्छ । सिभिल इन्जिनियर थापाले झण्डै दुई दशकको राजनैतिक यात्रा र अनुभव बटुल्दै संघीय सदस्यको लागि उम्मेदवारी दिनुभएको छ । नेकपा एमालेको बुद्धिजिवि परिषदका केन्द्रिय इन्चार्ज समेत रहनुभएका थापा बौद्धिक व्यक्तिहरुसँग नजिक हुनुहुन्छ । आफू चुनावमा एक्लै लड्ने भएपनि चुनाव जितेपछि विभिन्न क्षेत्रका विज्ञहरुलाई आफ्नो टिममा समावेश गरि योजना निर्माण गरिने थापाले बताउनुभयो ।
उहाँले सिन्धुली सौगातसँग कुरा गर्दै सचेत सिन्धुलीवासिले शिक्षित उम्मेदवारलाई भोट दिने बताउनुभयो । उहाँले सिन्धुलीबाट रोजगारीकालागि युवा विदेशिने क्रम बढेको बताउँदै युवालाई स्वदेशमै टिकाई राख्न रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले सिन्धुलीबाट वैदेशिक रोजगारीमा गएकाहरुको तथ्यांकलाई केलाउदैँ सिन्धुलीबाट हरेक दिन २० जना युवाहरु रोजगारीकालागि विदेशिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका ४० हजार युवाहरु विदेशमा पसिना बगाइरहेका छन् । हरेक १ महिनामा एकजना सिन्धुलीको युवाको शव नेपाल आउने गरेको बैदेशिक प्रवद्र्धन बोर्डको तथ्यांकमा छ ।” रोजगारीको अवसर नुहँदा सिन्धुलीको जनसंख्याको ठूलो हिस्साले उर्जाशिल उमेर विदेशमै बिताउन बाध्य रहेको थापाको भनाई छ । थापाका अनुसार सिन्धुलीमै रोजगारीको अवसर सिर्जना गर्न कलकारखानाको स्थापना हुनुपर्छ । उहाँले थप भन्नुभयो, “कृषिमा आधुनिकिकरण, कृषकलाई कृषि सामाग्रीको उपलब्धता, युवालाई कृषि क्षेत्रमा आकर्षण र उद्यमीलाई राज्यको सहयोग मिल्ने हो भने सिन्धुलीमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।”
सिन्धुलीको क्षेत्र नं २ बाट निर्वाचित भए कमलामाई नगरपालिकामा औषधि उत्पादन गर्ने कम्पनि संचालनमा ल्याउने बताउनुभयो । “मैले पाँच वर्षे कार्यकालमा सिन्धुलीमा औद्योगिक क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राख्ने छु । सबैभन्दा बढि जिल्लासँग सिन्धुलीको सिमाना जोडिएको हुँदाहुदैँ पनि सिन्धुलीमा उद्योगको विकास हुन नसक्नु दुर्भाग्य हो ”, उहाँले भन्नुभयो, “विपी राजमार्गदेखि मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग यहि जिल्ला हुदैँ निर्माण भएका छन् । बजारको प्रशस्त संभावना हुदाहुदैँपनि सिन्धुलीमा कलकारखाना स्थापना नहुनु भनेको लासामा सुन छ कान मेरो बुच्चै भने जस्तै हो । तसर्थ, मेरो उम्मेदवारी ती उर्जाशिल युवा र सिन्धुलीको उज्जवल भविष्यको लागि हो ।”
उहाँले आफू चुनावि प्रचारप्रसारमा हिँडिरहदा विगतमा अन्य दलबाट निर्वाचित भएका सांसदहरुले युवाकालागि कहिले पनि समय नदिएको अनुभुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जन्मजातनै स्पोर्टम्यानसिप स्प्रीट भएकोे सिन्धुलीको युवाहरु खेलकुदमा अब्बल हुन सकिरहेका छैनन् । सानैदेखि मरिण, सुनकोशी, कमला लगायतका खोलामा पौडी खेल्दै बगरमा कुदेका युवाहरु किन स्विमिङ वा म्याराथोन प्रतियोगितामा देखिदैँनन् ? किनभने, उनीहरुले अवसरनै पाईरहेका छैनन् ।”
उहाँले खेलकुदको विकासलाई आफूले सधैँ प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म निर्वाचित भएपछि क्षेत्र नम्बर २ मा स्पोर्ट्स एकेडेमिहरु संचालनमा ल्याउने छु । समग्रमा, सिन्धुलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्नकालागि खेलको विकास मेरो प्राथमिकतामा पर्नेछ ।”
उहाँले पुर्वाधार हुदाहुदैँ पनि शिक्षा क्षेत्रको विकास नभएकोमा दुःख व्यक्त गर्नुभयो । “सिन्धुलीमा ५ सय ६७ वटा सामुदायिक विद्यालय छन् । हामीसँग शिक्षा क्षेत्रको विकासकालागि पुर्वाधार नभएका होइनन् । राज्यबाट वर्षेनि करोडौँ रुपैँया सिन्धुलीको शैक्षिक क्षेत्रमा लगानी हुन्छ । तर, सिन्धुलीको शैक्षिक क्षेत्रको व्यवस्थापन हुन सकिरहेको छैन ,”, उहाँले भन्नुभयो, “म निर्वाचित भएसँगै मेरो टिममा रहेको विज्ञ शिक्षकहरुले सिन्धुलीको क्षेत्र नम्बर २ को शैक्षिक क्षेत्रको विकासकालागि खाका बनाउनेछन् ।” उहाँलाई निजि संस्थासँग पनि समन्वय गरि जिल्लाको शैक्षिक क्षेत्रमा कायापलट गरिने बताउनुभयो ।
सिन्धुलीको स्वास्थ्य क्षेत्रमा देखिएको समस्याका बारेमा आफू जानकार रहेको बताउँदै थापाले सिन्धुली अस्पताललाई सुविधासम्पन्न बनाउन सके सिन्धुलीवासिले उपचारकालागि काठमाडौँ लगायत अन्य जिल्ला धाउनुपर्ने बाध्यता हट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिन्धुली अस्पतालबाट करोडौँ राजश्व उठाउन सकिन्छ । १० वटा जिल्लासँग सिमाना जोडिएको सिन्धुलीमा जिल्ला अस्पतालबाट गुणस्तरीय सेवा दिन सके जिल्लाको आन्तरिक आयश्रोत बढ्ने निश्चित छ । त्यसैले, सिन्धुली अस्पतालमा उपकरणहरु थपिनेछन्, चिकित्सहरु ल्याइनेछ र गुणस्तरीय सेवा दिने वातावरण सिर्जना गरिनेछ । त्यसैगरि, जिल्लामा रहेको प्राथमकि उपचार केन्द्र, स्वास्थ्य चौकी लगायत स्वास्थ्य क्षेत्रबाट गुणस्तरीय सेवा दिनकालागि मेरो टिममा रहेको स्वास्थ्य विज्ञहरु अहोरात्र खटिनेछन् ।”
पर्यटनलाई जिल्लाको मुख्य आय श्रोत बनाउन सकिने बताउदैँ थापाले सिन्धुली विरताको प्रतिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिन्धुली पर्यटकिय गन्तव्य हो । यो त्यो जिल्ला हो जहाँ युरोपबाहिर पहिलो पटक अंग्रेज सेना परास्त भएका थिए । सिन्धुलीगढीको एतिहासिक विरताको कथाले सिन्धुलीवासिलाई सधैँ स्वाभिमान हुन सिकाएको छ । सिन्धुलीगढीको विरताको कथालाई विश्वभर प्रचारप्रसार गर्न कार्यक्रम ल्याईनेछ । विश्व तथा नेपालका चर्चित भ्लगर, इतिहासविद लगायतलाई नागबेलि विपी राजमार्गमा घुमाइनेछ र सिन्धुलीको विरताको कथा देखाइनेछ । अन्तराष्ट्रिय तथा आन्तरिक पर्यटकलाई सिन्धुलीगढीसम्म आकर्षित गर्न सबैखाले प्रयासहरु गरिनेछ ।
हरिहरपुरगढीको पुननिर्माणकालागि गुरुयोजना बनाइसक्नुभएका थापाले हरिहरपुरगढीको पुनः निर्माणसँगै हहिरपुर र मरिण खोलाको तिरमा होटल तथा रिसोर्ट संचालन गरिने जानकारी दिनुभयो । ऐतिहासिक हरिहरपुरगढीसँगै पर्यटकले मरिण खोलाको किनारामा रमाउने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “मदन भण्डारी राजमार्गले हरिहरपुरगढीलाई हेटौँडासँगको दुरी नजिक बनाएको हुँदा हहिरपुरगढीलाई चितवनको तटिय क्षेत्र जस्तो पर्यटकिय गन्तव्य बनाउन हाम्रा विज्ञ टोलीले अनुसन्धान गर्नेछ ।”
थापाले नेपाली काँग्रेसका संस्थापक सभापति विपी कोइरालालाई पनि चुनावको मुख्य एजेण्डा बनाउनुभएको छ । उहाँले चार जना पूर्व प्रधानमन्त्री, साहित्यकार, शिक्षाविद् एवं उच्च पदमा आसीन कोइरालाहरूको पुख्र्यौली थलो सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित दुम्जा रहेकोले संग्रहालय निर्माण गरि पर्यटक भित्राउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालासहित चारजना प्रधानमन्त्रीको पुर्खौलीथलो सिन्धुली हुनु गौरवको विषय हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सिन्धुलीमा भित्राउन हर्दम प्रयास हुनेछ ।”