सिन्धुली - अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा जनजाती समाज विकास कार्यक्रम (जे.एस.डि.पी) ले किशोरीलाई नेतृत्वमा रहेर काम गर्ने अभ्यास गराउन थालेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा नेतृत्व र निर्णय परियोजना अन्र्तगत अभियानकै रुपमा अभ्यास गराउन थालेको हो ।
बुधबार सुनकोसी गाउँपालिका–६ मा रहेको सितलपाटी स्वास्थ्य चौकीमा उक्त अभ्यास गराइएको छ । प्रयोगात्मक अभ्यासका लागि स्थानीय किशोरी अन्जना कालिकोटेलाई एक दिनका लागि सित्तलपाटी स्वास्थ्य चौकीको इन्चार्ज बनाइएको थियो ।
उहाँलाई वडा अध्यक्ष मनेन्दराज थापा, वडा कार्यालय सहायक प्रविधिक गोरख वहादुर खड्का, स्वास्थ्य चौकीका कर्मचारी लगायत किशोर–किशोरीको उपस्थितीमा स्वास्थ्य चौकी इन्र्चाज सुनिता श्रेष्ठको पदमा रहेर काम गर्ने अवसर प्रदान गरिएको थियो । यस अवधिमा कालिकोटेले स्वास्थ्य चौकीको विकास तथा सुधारका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्नु भयो । स्वास्थ्य संस्थालाई किशोरी मैत्री बनाउने योजना समेत तय गर्नुभयो ।
स्वास्थ्य चौकीमा किशोरीहरु उपचार वा सल्लाह लिन आउदा गोपनियता कायम राख्ने वातावरण सिर्जना गर्न पहल गर्नु भयो । कतिपय अवस्थामा जिज्ञासा तथा आफ्ना स्वास्थ्य समस्या बारे खुलेर भन्न नसक्ने, लाज र समाजको डरका कारण स्वास्थ्य चौकीमा आएर सल्लाहा नलिने समस्या रहेकाले त्यस्तो विशेष अवस्थामा संस्थाको रजिष्ट्रेसन गोप्य राख्न कर्मचारीलाई निर्देशन दिनुभयो । किशोरकिशोरी मैत्री स्वास्थ्य चौकी तथा सेवा, सुविधाका बारेमा विद्यालयहरुमा गएर जानकारी गराउने निर्णय समेत गर्नुभयो ।
स्वास्थ्य चौकीको इन्र्जाजमा रहेर काम गर्दाको एक दिने अनुभव सुनाउदै उहाँले आफूँ पदमा पुगेर स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री बनाउन तथा स्वास्थ्य चौकीको विकास र सुधारका लागि पहल गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
स्वास्थ्य चौकी इन्र्चाज श्रेष्ठले यस्ता अभ्यासले किशोरीहरुको क्षमता विकासमा सहयोग पुग्ने बताउनु भयो । उहाँले किशोरी कालिकोटेले जस्तै स्वास्थ्य चौकीलाई सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्ष थापाले खालको अभ्यासले किशोरीहरुलाई नेतृत्व र निर्णय तहमा रहेर काम गर्न सहज हुने धारणा राख्नुभयो ।
नेतृत्व र निर्णय परियोजनाका कार्यक्रम संयोजक विवेक बस्नेतका अनुसार यस्तै कार्यक्रम विहिबार सिन्धुलीको मरिण गाउँपालिका, तीनपाटन गाउँपालिका र दुधौली नगरपालिकामा पनि विभिन्न निकायको नेतृत्व हस्तान्तरणको कार्यक्रम गरिदै छ । साथै अन्य ठाउँहरुमा क्रमसः कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।
हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । सन् २०११ मा संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो
‘अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य’ यस वर्षको बालिका दिवसको नारा हो । विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । सोही कार्यक्रम अन्र्तगत जे.एस.डि.पी.ले किशोरीलाई नेतृत्वमा रहेर काम गर्ने अभ्यास गराएको जनाएको छ ।