काठमाडौं – होटलमा लगेर प्रेमीले प्रेमिकामाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्सालस्थित होटल क्राउन प्लाजामा लगेर प्रेमीले प्रेमिकामाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा सिन्धुलीका पदमकुमार श्रेष्ठ र जितपुर सिमराका केशव रिजाललाई प्रहरीले पक्राउ गरेको हो ।
आगोलागीमा परी २३ वर्षीया प्रेमिका पवी खनालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । युवतीलाई सुरुमा वीर अस्पतला लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो । अस्पतालमै मंगलबार बिहान युवतीको मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगलागी भएको खुलेको छ । रिजाल मृतक खनालको प्रेमी हुन् ।
युवतीको मृत्युलगत्तै प्रहरीले सँगै कोठामा रहेका जितपुर सिमरा उपमहानगरपालिका १४ स्थायी घर भएका २६ वर्षीय केशव रिजाललाई पक्राउ गरेको थियो । रिजालसँगै होटल सञ्चालक ३७ वर्षीय पदम श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार युवतीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको छ । तर युवती आँफैले आगो लगाएकी हुन् कि अरु कसैले पेट्रोल छर्केर आगो लगाएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसले पेट्रोल लिएर गयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका केशव रिजाल र युवती प्रेमी–प्रेमिका रहेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । पोष्टमार्टमका लागि युवतीको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले पक्राउ परेका श्रेष्ठ र रिजाललाई मंगलबार नै जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी वृत मालीगाउँमा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो,“घटना शंकास्पद देखिन्छ । सोमबारको घटना भए पनि होटलले हामीलाई जानकारी गराएको थिएन । अस्पतालबाट खवर आएपछि हामीले घटनाको बारेमा थाहा पाएका थियौं ।”