सिन्धुली– सिन्धुलीको क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदिप कटुवाल र वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका श्याम घिमिरे चुनावि मैदानमा छन् । प्रतिनिधिसभा सदस्यकालागि उम्मेदवारी दिनुभएका नेताद्वय सिन्धुलीका ‘हेभिवेट’ उम्मेद्वारमा गनिन्छन् । कटुवाल बागमती प्रदेशको मन्त्री भइसक्नुभएको छ भने घिमिरे केन्द्रिय सदस्य एवं लेखा समितिको सदस्य संयोजक हुनुहुन्छ । पुर्व स्वास्थ्यमन्त्री एवं क्ष्ोत्र नं १ तर्फ संघिय सदस्यका उम्मेदवार कटुवाल नेकपा एमाले सिन्धुलीका पुर्व जिल्ला इन्चार्ज समेत हुनुहुन्छ । यस क्षेत्रमा वाम गठबन्धन र एमालेबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. १ मा ४ स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको हो । प्रतिनिधिसभा क्षेत्र नं. १ मा स्वतन्त्रबाट दुधौली–९ का रामप्रसाद अधिकारी, कमलामाई नगरपालिका (कनपा)–९ का कृष्णहरि पौडेल, गोलञ्जोर–५ का डम्बरबहादुर बिक र कनपा १४ का रामहरी बुढाथोकीको उम्मेदवारी परेको छ । नेपाल मजुदर किसान पार्टीबाट चित्रलाल श्रेष्ठ, मंगोल नेश्नल अर्गनाईजेशनका धनकुमार राई, एकीकृत शक्ति नेपालबाट फडिन्द्रबहादुर श्रेष्ठ, राप्रपाबाट मेनुका ठकुरी, राप्रपाबाट शालिग्राम माझी, जसपाबाट सोमनाथ अधिकारी र नेकपा पुष्पलालबाट हिरण्यलाल श्रेष्ठको उम्मेदवारी परेको छ । यस क्षेत्रमा कमलामाई नगरपालिकाको ९, १३ र १४ वडा, दुधौली नगरपालिका, तिनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकाको सबै वडा पर्दछ ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र–१ प्रदेशसभा–१ मा एक जना स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेका सुवासराज देवकोटा, नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद भट्टराई, नेकपा (एस) का टेकेन्द्रबहादुर सुवेदी, राप्रपाका रामनारायण अधिकारी, नेपाल मजदुर किसान पार्टीका कृष्णकुमार मचाममी र स्वतन्त्रबाट अन्यु अधिकारीले उम्मेदवारी दिएका छन । प्रदेशसभा १(१) मा दुधौली नगरपालिकाको सबै वडा र कमलामाई नगरपालिकाको ९, १३ र १४ वडा पर्दछ ।
त्यस्तै, प्रदेशसभा १ (२) मा नेकपा एमालेबाट कुमारबहादुर कार्की, नेपाली काँग्रेसबाट रामकुमार पहाडी, नेकपा (एस) बाट चित्रबहादुर लुंगेली, नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, राप्रपाबाट राजेश मगर, नेकपा माक्र्सवादी (पुष्पलाल) बाट झंकनाथ दाहाल, मंगोल नेशनल अर्गनाईजेशनका छत्र बहादुर माझीको उम्मेदवारी परेको छ । प्रदेशसभा १(२) मा तिनपाटन, गोलान्जोर र फिक्कल गाउँपालिकाको सबै वडा पर्दछ ।
यस्तै, सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा पनि नेकपा एमाले र माओवादी केन्द्रका हेभिवेट उम्मेदवारको चुनावि भिडन्त हुने भएको छ । नेकपा एमालेका तर्फबाट बुद्धिजिवि परिषदका केन्द्रिय इन्चार्ज एवं केन्द्रिय सदस्य मनोज जंग थापा र माओावदी केन्द्र सिन्धुलीका इन्चार्ज एवं निवर्तमान प्रदेशसभा सदस्य लेखनाथ न्यौपाने ‘राजन’ प्रतिनिधिसभा सदस्यकालागि चुनावी मैदानमा हुनेछन् ।
दाहालले २०७४ को चुनावमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा चुनाव लडेपनि २०७९ को चुनावमा फरक निर्वाचन क्षेत्रबाट फरक पदकालागि उम्मेदवारी दर्ता गर्नुभएको छ । यस क्षेत्रमा ११ जनाको उम्मेदवारी परेको छ । नेपाल मजदुर किसान पार्टीबाट रामेश्वरी कोजु, मंगोल नेशनल अर्गनाईजेशनबाट शान्तवीर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अनोजकुमार दाहाल, राप्रपाबाट भिष्मराज श्रेष्ठ, तामाङसालिङ लोकतान्त्रिक पार्टीबाट डिल्लीकुमार गोले, जसपाबाट मानध्वज भ्लोन र जनसमाजवादी पार्टी नेपालबाट योग्यबहादुर मुडुला कार्की, नेकपा (एस) का नेता गोपालबहादुर थापा र भुपेन्द्र विश्वकर्माले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा कमलामाई नगरपालिकाको ९,१३ र १४ बाहेकका सबै वडा र सुनकोशी, मरिण, हरिहरपुरगढी गाउँपालिकाको सबै वडा पर्दछ ।
प्रतिनिधिसभा क्षेत्र नं २ को १ प्रदेशसभातर्फ ६ जना र निर्वाचन क्षेत्र २ (ख) मा ७ जना गरी कुल १३ जनाकोे उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को १ प्रदेशसभा सदस्यमा नेकपा एमालेका विनोदकुमार खड्का, नेपाली काँग्रेसका छेत्रबहादुर बम्जन, राप्रपाका राजेश विक्रम बस्नेत क्षेत्री, नेपाल मजुदर किसान पार्टीका संगिता दुवाल, मंगोल नेशनल अर्गनाईजेशन पार्टीका योजनकुमार बल र स्वतन्त्रबाट दिपककुमार पोखरेलको उम्मेदवारी परेको छ । प्रदेशसभा २(१) मा कमलामाईको ९, १३ र १४ बाहेकका सबै वडा र सुनकोशी गाउँपालिकाको सबै वडा पर्दछ ।
त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेकातर्फबाट रामकुमार पौडेल, गठबन्धनकातर्फबाट बाबुराम भट्टराई निकट नेता गंगा नारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचनमा लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट टलकबहादुर कार्की, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण ग्वाछा, मंगोल नेशनल अर्गनाईजेशनबाट तुलसी राई, जनसमाजवादी पार्टीबाट हेमन्त पुलामी र स्वतन्त्रबाट सरोजकुमार मैनालीको उम्मेदवारी परेको छ । प्रदेशसभा २(२) मा मरिण, सुनकोशी र हरिहरपुरगढी गाउँपालिका पर्दछ ।