सिन्धुली– यस वर्षको दशैँका लागि राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सिन्धुलीले तीन करोड नयाँ नोट ल्याएको छ । असोज १ गते बैँकले नयाँ खुजुरा नोट तीन करोड ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीले भिमान शाखा र मरिण शाखालाई २०÷२० लाख नयाँ नोट पठाएको छ ।
बैँकमा नयाँ नोट आएसँगै मानिसको भिड लागेको छ । राष्ट्रिय वाणिज्य बैंक लगाएत जिल्लाका अन्य निजि बैंकहरुमा दशैँका लागि नयाँ नोट साट्नेको भिड लागेको हो । बैंकमा दिनभर लाइन बसेर सर्वसाधरणले नयाँ नोट साटि रहेका छन् । बैँकले प्राथमिकता दिएर ठुला व्यवसायी तथा ग्राहकलाई नयाँ नोट वितरण गरिरहेको छ । कमलामाई नगरपालिका ७ की पंचमायाँ तामाङ चार घण्टासम्म लाइनमा उभिएर राष्ट्रिय वाणिज्य बैंकबाट नयाँ नोट साटेको बताउनुहुन्छ । ‘ अगाडि नै पालो आउँछ भने बिहान ९ बजे देखि नै आएको, ११ बजे देखि नयाँ नोट साट्ने रैछ । पालो कहिले आउने हो थाहा छैन ।’ उहाँले भन्नुभयो । बिहानदेखि नै बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आउनुभएको चमेली माया दिनभरि पालो कुरेको बताउनुहुन्छ । पालो आउदैन भनेर बिहानै बैँक आएको, १ बजि सक्यो पालो आएको छैन । छोरीले कागजपत्र मिलाउदै छे ।’ उहाँले भन्न्नुभयो ।
कमलामाई नगरपालिका ४ का दिलबहादुर पौडेल झण्डै दुई घण्टासम्म लाइनमा बसेर आफ्नो पेन्सन निकाल्नु भएको छ । राष्ट्रिय वाणिज्य बैंकमा दुई घण्टा सम्म पालो कुरेर पेन्सन निकालेको उहाँले गुनासो गर्नुभयो । ‘ठ्याक्कै दुई घण्टा सम्म पालो कुर्नु पर्यो । कहिले इन्टरनेट ढिलो चल्ने कहिले इन्टरनेट नचल्ने भन्दै बैंकका कर्मचारीले एउटा व्यक्तिको काम गर्न १० मिनेट भन्दा बढी लगाउछन् ।’ उहाँले भन्नुभयो । बैंकमा दशैँ नजिकएसँगै भिड बढेको छ । भिड व्यवस्थापनमा भने बैंक प्रशासनले चासो दिएको छैन ।
बैैंकले आइतबार देखि दशैँका लागि सर्वसाधरणले नयाँ नोट साट्न पाउने व्यवस्था गरेको थियो । बैंकले हाल सम्म झण्डै १० लाख भन्दा बढी नयाँ नोट साटि सकेको जनाएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैँया दरका नयाँ नोट साटेका छन् । राष्ट्रिय वाणिज्य बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गरिरहेको छ । अन्य सरकारी तथा गैसरकारी संघसंस्थालाई भने संस्थाको कर्मचारी तथा माग गरे अनुसारको नयाँ नोट वितरण गरिएको छ । सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा चार स्थानमा रहेका छन् । यस्तै, जिल्लामा रहेको अन्य निजि बैंकहरुले पनि नयाँ नोट वितरण गरिरहेको छ । सिन्धुलीमाढीमा रहेको विभिन्न निजि बैंकमा नयाँ नोट लिन नागरिकको भिड बढेको छ ।