शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा म्यादी प्रहरीमा आवेदन दिनेको संख्या कम

शुक्रवार , आश्विन ७, २०७९

सिन्धुली– कमलामाई नगरपालिका ४ कि गिता विश्वकर्माले यो पटक म्यादी प्रहरीमा आवेदन दिनुभएन । स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरी हुनुभएको विकलाई यो पटक म्यादि प्रहरी हुन मन लागेन । म्यादी प्रहरीको सेवासुविधा कम भएकाले आवेदन नदिएको उहाँले बताउनुभयो । ‘धेरै दुख हुने । बाहिर बस्दा पैसा जोगाउन पनि नसकिने । कमाएको सबै पैसा खाजा र खाना मै सकिने, धेरै दिनको जागिर पनि होइन, त्यसैले मैले आवेदन दिइन ।’, उहाँले भन्नुभयो । स्थानिय तहको निर्वाचनमा उहाँ दुई दिनसम्म पालो कुरेर म्यादी प्रहरीमा भर्ना हुनुभएको थियो । ‘पहिले दुई दिनसम्म पालो कुरेर आवेदन दिएको थिए । त्यति धेरै मानिस हुदाँ पनि मैले नाम निकाल्न सफल पनि भएको थिए ।’, उहाँले भन्नुभयो । स्थानिय तह निर्वाचनमा विकलाई हरिहरपुरगढी गाउँपालिका खटाइएको थियो ।

सुनकोशी गाउँपालिका ५ का मिलन थापा भने दशैँ तिहार मनाउन नपाउने भएकाले म्यादी प्रहरीमा आवेदन नदिएको बताउनुभयो । मंसिर ४ गते चुनाव भएपनि चाडपर्वको समयमा तालिम पर्ने उहाँको भनाइ छ । ‘दशैँ तिहार नै मनाउन पाइदैन । एक महिनाको जागिरका लागि वर्षमा एक चोटि आउने यति ठुलो चाडपर्व कसरी छोड्ने ? चुनाव ४ गते भएपनि अगाडि तालिम पर्छ । त्यसैले मैले यो पटक आवेदन दिइन ।’ उहाँले भन्नुभयो । स्थानिय तह निर्वाचनमा भने थापा म्यादी प्रहरी हुनुभएको थियो ।

मरिण गाउँपालिका १ का सुभाष माझि सेवासुविधा कम भएकाले यो पटक म्यादी प्रहरीमा आवेदन नदिएको बताउनुहुन्छ । थोरै समयकालागि जागिर, साथै सेवासुविधा पनि थोरै भएकाले म्यादी प्रहरीमा आवेदन नदिएको उहाँको भनाइ छ । ‘धेरै नै थोरै सेवासुविधा छ । जागिर पनि थोरै समयको हो । तालिममा दुख धेरै हुने । पैसा पनि बचत गर्न गारो । घरबाट टाढा खटिदा खाजा र खाना मै सबै पैसा खर्च हुने ।’, उहाँले भन्नुभयो । स्थानिय तह निर्वाचनमा माझिले म्यादी प्रहरीमा तीन सम्म पालो कुरेर निवेदन दिनुभएको थियो । साथै उहाँले म्यादि प्रहरीमा नाम निकाल्न पनि सफल हुनुभएको थियो ।

सिन्धुलीमा स्थानिय तह निर्वाचन भन्दा संघ र प्रदेशको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुनेको संख्या दोब्बर कम देखिएको छ । स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीमा ३२ सय जनाले आवेदन दिएका थिए भने यो पटकको संघ र प्रदेशको निर्वाचनका लागि १८ सय जनाले मात्रै आवेदन दिएका छन् । चाडपर्वको कारण यो पटक म्यादी प्रहरीमा आवेदन दिनेको संख्या कम भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक रामभक्त भट्टराइले बताउनुभयो । उहाँका अनुसार सेवासुविधा लगाएत विभिन्न कारणले पनि म्यादी प्रहरीमा भर्ना हुनेको संख्या कम भएको हो ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलेको थियो । भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन समय रहेको थियो । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन मिल्ने व्यवस्था रहेको थियो । असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने प्रहरी प्रधान कार्यालय नक्शालले जनाएको छ । म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् ।

सिन्धुलीमा गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको चुनावकालागि एह हजार १६८ जना म्यादी प्रहरी छनोट भएका थिए । त्यसैगरि, २०७४ मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधिसभाको चुनावमा सिन्धुलीबाट ११ सय ८१ जना छनोट भएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया